सप्तरीमा मलखादमा भएको अभावका विषयमा सप्तरीका स्थानीय तह प्रमुखहरुले चासो व्यक्त गरेका छन् । सप्तरीका विभिन्न पालिका प्रमुख तथा प्रतिनिधिहरु मंगलबार राजविराज स्थिति कृषि सामग्री संस्थान राजविराजमा पुगेर मलमा भएको ढिलासुस्ती बारे चासो लिएका हुन् ।
कृषि सामाग्री संस्थानक प्रमुख मुरमुसंग छलफल गर्दै पालिका प्रमुखहरु । फोटो : न्यूज टुडे
मलमा भएको चरम कालाबजारीको कारण हाहाकार मच्चिएकोले माग अनुसार किसानहरुलाई मल पुर्याउन नसकिएकोले समयमा मल वितरणका लागि ध्यानाकर्षण गराउन आफुहरु कृषी सामाग्री संस्थानमा धर्ना दिन बाध्य भएको रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले बताए । उनले कृषी सामाग्री संस्थानमा भण्डारण गरि राखीएको मल पालिकाहरुमा पठाउने सुनिश्चित नभएसम्म धर्नालाई जारी राख्ने चेतावनी दिए ।
राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले मल अभावका कारण प्रतिकिसान १० किलोको दरले वितरण गर्न बाध्य भएको बताइन् । उनले कृषि सामाग्री संस्थानले समयमा मल नपठाउँदा किसानहरुको तथानाम भनाइ खानुपरेको उनले दुखेसो सुनाइन् ।
किसानलाई मल आवश्यक हुँदा चर्को मुल्यमा खरिद गरि प्रयोग गर्नुपर्ने र कृषि संस्थानमा अनावश्यक भण्डार गरि राखेर किसान सम्म मल नपुगेकाले मल वितरणका लागि दवाव सिर्जना गर्न आएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।
संस्थानमा पटकपटक पत्राचार गरि मल पठाउन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि आफुहरु एकजुट भई दवाव सिर्जना गर्न आउनुपरेको बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवले बताए ।
कृषि संस्थान राजविराजका प्रमुख सोनुलाल मुरमुले गोदाममा मल हुँदा समेत प्रदेशिक कार्यालयको आदेश नहुँदा मल वितरण गर्न नसकिएको बताए । उनले मल बितरण आदेशका लागि पत्राचार गरिसकिएकोले पालिकाहरुलाई छिटै मल वितरण गर्ने जानकारी दिए ।
कार्यालय प्रमुख मुरमुका अनुसार गोदाममा ४ हजार १ सय ८६ मेटि्रकटन युरिया, २ हजार १ सय १ मेटि्रकटन डिएपी र १ सय ६ मेटि्रकटन पोटास भण्डार रहेको छ ।
संस्थानबाट आव २०८१/०८२ साउनदेखि सप्तरीमा ४ सय ५२ मेटि्रकटन युरिया, १ हजार १ सय ४९ मेटि्रकटन डिएसपी र २५ मेटि्रकटन पोटास वितरण गरिएको बताए ।
मंसिर २० गतेदेखि मल गोदाममा राखिएपनि प्रदेशको आदेश नआउँदा मल वितरणमा समस्या उत्पन्न भएको उनले जानकारी दिए ।
यसैगरी सप्तरीका विभिन्न पालिका प्रमुखहरुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । विज्ञप्तिमा २४ घण्टा भित्र खाद वितरण गर्न माग गर्दै उनीहरुले सुनुवाइ नभए कडा संघर्षमा उत्रेने चेतावनी समेत दिएका छन् ।
पालिका प्रमुखहरुको साथमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवलगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।