न्यूज टुडे
राजविराज, २१ मंसिर ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस मञ्च नेपाल सप्तरीद्वारा शुक्रबार महासंघ कार्यालय सप्तरीमा तालाबन्दी गरेको हो ।
सदस्यता सम्बन्धि विवादमा महासंघ सप्तरी शाखाको सर्वसम्मत निर्णय गरी पठाएको सूची हालसम्म केन्द्रीय कार्यालयले शाखामा नपठाएको तथा महासंघको आधिकारिक वेबसाईटमा समेत नराखेकोले विवाद उत्पन्न भएको महासंघ सप्तरी शाखा सचिब रामनारायण विश्वासले बताए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा उपाध्यक्ष बैधनाथ यादवले पत्रकार महासंघलाई षड्यन्त्र पूर्वक विवादमा लग्न खोजिरहेको आरोप लगाए । उनले महासंघ सप्तरीको सर्वसम्मत निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै शाखाको निर्णयलाई लत्याउने प्रयास गरिए मान्य नहुने जिकिर गरे ।
महासंघले सप्तरी शाखा सदस्यता अन्योलमा राखी केन्द्रीय समितिको मनोनयन दर्ता सुरु गरेकोले तालाबन्दी गर्न बाध्य भएको प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले जानकारी दिए । महासंघले सदस्यता सूची सार्वजनिक नगरेसम्म तालाबन्दी जारी राख्ने उनले चेतावनी दिए ।