• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाक्नेश्वरी १ र ४ का वडा अध्यक्षमा विभिन्न पार्टीका उम्मेदवारद्वारा मनोनयन दर्ता

डाक्नेश्वरी १ र ४ का वडा अध्यक्षमा विभिन्न पार्टीका उम्मेदवारद्वारा मनोनयन दर्ता
न्यूज टुडे
राजविराज, ०२ मंसिर । 
स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीमा आइतबार विभिन्न पार्टीका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता  गरेका छन् । पातो स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न पार्टीका उम्मेदवारहरुले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गराउन पुगेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु । फोटो : न्यूज टुडे
वडा नम्बर १ को अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,,जनमत, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत दर्जनबढीको उम्मेदवारी परेको छ । जसपा नेपालबाट १ नम्बर वडा अध्यक्षमा धिरेन्द्र साह र ४ नम्बर वडामा देबेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्  । वडा नम्बर १ का अध्यक्षका उम्मेदवार साहका वारेस राजेश्वर रायले उम्मेदवारी दर्ता गराएका छन् ।
वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि मात्र जसपामा प्रवेश गरेका थिए । 
उम्मेदवारी दर्ताका लागि जाँदै गरेका जनमत पार्टीका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
यसैगरी नेपाली काँग्रेस १ नम्बर वडा अध्यक्षमा भगवानी साह र वडा नम्बर ४ मा भुलिया देवी थरुनीले मनोनयन दर्ता गराएका छन्  भने नेकपा एमाले १ नम्बर वडा अध्यक्षमा संजय यादव र ४ नम्बर वडा अध्यक्षमा जोगिन्द्र रायले मनोनयन दर्ता गराएका छन् ।
पार्टीका नेताकार्यकर्तासहित मनोनयन दर्ता गर्न पुगेका नेपाली काँग्रेसका उम्मेदवारहरु । फोटो : न्यूज टुडे

यसैगरी नेकपा माओवादी केन्द्र १ नम्बर वडा अध्यक्षमा प्रमोद कुमार संत र ४ नम्बर वडा अध्यक्षमा भागवत राम र नागरिक उन्मुक्तिबाट १ नम्बर वडा अध्यक्षमा अनिरुद्व प्रसाद चौधरी, ४ नम्बर वडा अध्यक्षमा शिव कुमार रामले मनोनयन दर्ता गराएको जनाएको छ ।

नेकपा माओवादी केन्द्रका नेताकार्यकर्ता तथा उम्मेदवार । फोटो : न्यूज टुड
यसैगरी जनमत १ नम्बर वडा अध्यक्षमा शैलेन्द्र साह,( बद्री) ४ नम्बर वडा अध्यक्षमा उदय नारायण पण्डित तथा  जसपासहितका अन्य दल र स्वतन्त्रबाट समेत उम्मेदवारी दर्ता भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
मंसिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
वडा नम्बर १ का अध्यक्ष पृतमलाल चौधरीको हृदय घात र वडा नम्बर ४ का अध्यक्ष हरि प्रसाद चौधरीको मष्टिकघात बाट मृत्यु भएपछि  उक्त वडाहरुमा पद रिक्त भएको थियो । उनीहरु दुबैजना नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।