न्यूज टुडे
राजविराज २३ कात्तिक ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार ६ जनाकाे उद्धार गरिएकाे छ । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गाेरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङकाे गजुरी गाउँपालिका- ५ बाट २ गरि ६ जना सहयाेगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
शुक्रबार उद्धार भएका ६ जनालाई मानवसेवा आश्रम काठमाडौंँकाे रानीवनसेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा २६ औं दिन धादिङकाे गजुरीसम्म आइपुग्दा १ सय ८९ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उद्धार भएका १ सय ४६ जना पुरुष र ४३ जना महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टाेली शुक्रबार गाेरखा हुँदै तनहुँ, चितवन, धादिङका सडकपेटी रहेका सहयाेगापेक्षी मानवहरुकाे उद्धार सेवामा खटिएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार टाेलीले शुक्रबार २६ दिनकाे यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेकाे छ भने शनिबारदेखि काठमाडौँ उपत्यका सडकपेटी तथा सार्वजनिक स्थानमा रहेका सडकआश्रित मानवहरुकाे उद्धार सेवामा रहने कार्यक्रम तय भएकाे जनाइएको छ ।