• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उदाउँदो सूर्यको पूजाआराधना गरी छठ सम्पन्न

उदाउँदो सूर्यको पूजाआराधना गरी छठ सम्पन्न
न्यूज टुडे 
राजविराज, २३कात्तिक । 
छठ पर्वको अन्तिम दिन शुक्रबार विहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य  दिदै छ्ठ पर्व सम्पन्न भएको छ। मधेशका विभिन्न जिल्लासहित देशैभरी धार्मिक विधिपूर्वक उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छ्ठपर्व विधिवत सम्पन्न  भएको हो ।
अग्नीसाइर कृष्णासवरन गापा-२ चाँदनी बजार स्थित जर्मन पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै ब्रतालू । फोटो : न्यूज टुडे
कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाकोसाथ यो पर्व मङ्गलबार देखि शुरु भएको थियो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समय देखि छठ मनाउने परम्पराको थालनी भएको हो । 
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेला देखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । 
संसारका सम्पूर्ण भौतिक विकास सूर्य माथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको जानकारहरू बताउँछन् । 
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सराप द्वारा कुष्ठरोग बाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रता बाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । 
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्ने बाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ । 
व्रत विधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । 
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ्ठ पूजामा सहभागीहरु बताउछन् ।  षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुने उनीहरुले जानकारी दिए । 
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराई मधेश लगायत सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।  
छठ पर्वका लागि पोखरी, नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थी देखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलि पल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदा देखि नै लसुन, प्याज लगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ ।