• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवा तथा खेलकुद मन्त्री चौधरीद्वारा विभिन्न व्यक्तित्व सम्मानित

युवा तथा खेलकुद मन्त्री चौधरीद्वारा विभिन्न व्यक्तित्व सम्मानित
न्यूज टुडे
राजविराज, १८ कात्तिक । 
युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीद्वारा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरु सम्मानित भएका छन् । नेपाली काँग्रेस खडक नगरपालिका ३ नम्बर वडा समितिद्वारा सप्तरीको बनरझुल्लामा आइतबार दीपावली, छठ, समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनीहरुलाई मन्त्री चौधरीले सम्मान गरेको हो ।
नेपाली काँग्रेस खडक नगरपालिका ३ द्वारा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका सहभागी । फोटो : न्यूज टुडे
नेपाली काँग्रेस  खडक नगरपालिका ३ नम्बर वडा समितिका सभापति सूर्यनारायण चौधरीको अध्यक्षमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले उनीहरुलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरे । 
कार्यक्रममा ३१ जना सेवा निबृत्त कर्मचारी, ३३ जना ज्येष्ठ नागरिक, ३० जना मनोराप्रान्त व्यक्तित्वलाई सम्मान गरिएको आयोजकले जनाएको छ । 
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सामाजिक बिकृतीको रुपमा फैलिएको लागूऔषध दुर्व्यवशनीले युवाहरुको भविष्य विग्रीदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले बालबालिकालाई  सभ्य र उच्च शिक्षा दिनुपर्नेमा जोड दिदै खेलकुदको माध्यमबाट दुर्व्यवशनी मुक्त र स्वास्थ्य समाज निर्माणका लागि आग्रह गरे ।
देश विकास र सुशासनका लागि  सरकारमा काँग्रेसको बहुमत अपरिहार्य रहेको जिकिर गर्दै मन्त्री चौधरीले तीनै तहको सरकारमा काँग्रेस नेतृत्वको बहुमत जुटाउन संगठन निर्माणका लागि स्थानीय नेताकार्यकर्तालाई निर्देशन दिए । 
कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी, नेपाली काँग्रेस जिल्ला सदस्य ध्रुब नारायण चौधरी, सप्तरी निर्वाचन क्ष्रेत्र नम्बर ४ (१) का सभापति सद्रुल मियाँ, महाधिवेशन प्रतिनिधि कानन चौधरी, खडक नगर सभापति दुर्गानन्द चौधरी, नीति तथा प्रशिक्षण प्रतिष्ठान क्ष्रेत्र नम्बर ४ का संयोजक विनोदानन्द चौधरी, प्राध्यापक डा. दुर्गानन्द चौधरी, खडक नगरपालिका ८ का वडा अध्यक्ष विन्दुलाल चौधरी, १० का राजेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
काँग्रेस महाधिवेशन प्रतिनिधि विरेन्द्र चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत खडक नगरपालिका वडा नम्बर ३ का अध्यक्ष देव नारायण चौधरीले गरे ।