न्यूज टुडे
राजविराज,११ बैशाख ।
विज्ञापनमा सरकारी एकाधिकार कायम गर्ने बालेन्द्र शाह बालेन नेतृत्वको सरकार विरुद्ध देशभरका पत्रकारहरुले विरोध जनाएका छन् । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय फिर्ताको माग गर्दै देशभरका पत्रकारहरुले शुक्रबार सामाजिक संजाल मार्फत विरोध जनाएका हुन् ।
नेपाल पत्रकार महासंघको सरकार विरुद्ध पूर्वनिर्धारित देशव्यापी अभियान अन्तर्गत शुक्रबार बिहान ०८: ०० बजे आफ्नो व्यक्तिगत फेसबुक आइडी मार्फत निर्णय फिर्ता गर्न पत्रकारहरुले दबाब दिएका छन् ।
बालेन सरकार कहाँ छ ? आर्थिक नाकावन्दी खेपेको सञ्चार जगत यहाँ छ।’ ‘विज्ञापन सम्बन्धि विभेदकारी निर्णय खारेज गर, प्रेस स्वतन्त्रता कायम गर’ लगायतका चर्को असन्तुष्टि पत्रकारहरुले सामाजिक संजालमा सार्वजनिक गरेका छन् । देशभरका पत्रकारहरुले शुक्रबार आ-आफ्नो संचार माध्यममा सम्पादकीय मार्फत सरकारको निर्णयको चर्को आलोचना गरेका छन् ।
महासंघले २०८३ बैशाख ०९ गते बुधबारदेखि बैशाख १५ गतेसम्म प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) नेतृत्वको सरकार विरुद्ध अभियान संचालन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विभेदकारी निर्णय र परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तर्राष्ट्रिय मापदण्ड नेपालको संबैधानिक प्रवन्ध खुल्ला अर्थ नीति र संघीयताको मर्म विपरीत भएको ठहर गर्दै महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष निर्णय फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएकोमा समाधानमा सरकार उदासीन देखिएकोले देश व्यापी दबाबमुलक अभियान संचालन गर्ने निर्णयमा पुगेको बताइएको छ ।
महासंघद्वारा २०८३ बैशाख ९- १५ गते सम्मको दबाबमुलक कार्यक्रम सार्वजनिक गर्दै प्रदेश, जिल्लासहितका मातहतका सम्पूर्ण शाखाहरुलाई सक्रिय सहभागिता जनाउन महासंघले निर्देशन गरेको छ ।
महासंघद्वारा सार्वजनिक गरिएको दवावमुलक कार्यक्रम अनुसार बैशाख ९ गते प्रदेश समितिद्वारा सबै प्रदेशका मुख्यमन्त्रीसंग छलफल गर्ने,१० गते सबै जिल्ला शाखाले विहान १० बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरि महासंघको अवधारणा सार्वजनिक गर्ने ११ गते सरकारको विभेदकारी निर्णय फिर्ताको अभियानलाई ऎक्यबद्वता जनाउने सम्पूर्ण संचारमाध्यमा सम्पादकीय लेखेर विरोध जनाउने र विहान ८ बजे निर्णयको विरुद्ध सामाजिक संजालमा विरोध गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि बैशाख १४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसंग छलफल गर्ने १५ गते नगरपालिका र गाउँपालिका महासंघसंग केन्द्रीय समिति र जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय तहलाई संघीय सरकारको निर्णय अवज्ञा गर्न आह्वान गर्दै शाखाले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले बताए ।