उत्तम आचार्य
राजविराज, १७ कात्तिक ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले देशमा मनाइने चाडपर्व संरक्षण सम्बर्द्धनका लागि राज्यले भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् । नेवा: समाज गुठी रुपनगरद्वारा नेपाल संवत् ११४५ को अवसरमा रुपनगरमा शनिबार आयोजित न्हुँ दया भिन्तुना तथा शंखधर साख्वाको जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री लेखीले भाषा ,धर्म संस्कृति र परम्परालाई अधिकारसंग जोड्नु पर्ने उल्लेख गरे । उनले देशमा सबैजाति समुदायले मनाउने संस्कृति संरक्षण सम्बर्द्धनमा राज्यले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

“नेवार समुदायले आफ्नो संस्कृति संरक्षण सम्बर्द्धनका लागि आज देशैभरी विभिन्न कार्यक्रम गरिरहेको छ,उनले भने”साँस्कृतिक अभियान सफलताको कामना गर्दछु, साथै तपाइँहरुको भावना र अभियानसंग सहमति जनाउँछु।”
मन्त्री लेखीले सबै जातिको भाषा, धर्म, संस्कृति, चाडबाडको संरक्षण र विकासको लागि प्रतिबद्धता समेत व्यक्त गरे ।
वडा नम्बर १२ का विकासका लागि मात्रै एकदर्जन योजना मधेस सरकारको तर्फबाट संचालनको तयारीमा रहेको बताउँदै मन्त्री लेखीले विद्यालय, बाटोघाटो, समुदायिक भवन निर्माण, स्वास्थ्य संस्थासहितका लागि वडा बासीको सल्लाह र भावना अनुसार करोडौं बजेट विनियोजन गरेको उल्लेख गरे । उनले तिहार,छठ, समाचकेवा लगायतका चाडवाड सकिनसाथ योजना कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्राले राष्ट्रिय विभूति शंखधर शाख्वाले किसानहरुको ॠण मिनाहा गरेको स्मरण गर्दै अहिलेका नेताजरु ठग तथा आफ्नो व्यक्तिगत ॠण मिनाहा गर्न मरिहत्ते गर्छन् भन्दै आक्रोश पखे ।
नेवा:देय: दबूका केन्द्रीय सदस्य दक्षनारायण श्रेष्ठले देशमा मनाउने चाडबाडलाई राज्यले सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिदै सबै जातजातिको संस्कृति जगेर्नाको लागि राज्य स्तरबाट बजेटको व्यवस्था गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
नेवा: समाज गुठी रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का अध्यक्ष देवी बहादुर खत्री, सम्मानित ज्येष्ठ नागरिक फडिन्द्र कुमार श्रेष्ठले समेत शुभकामना व्यक्त गरे ।
कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा १२ की ९८ बर्षीय दुखलक्ष्मी श्रेष्ठ, वडा नम्बर ८ का ८६ बर्षीय फडिन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुलाई मन्त्री लेखीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
नेवा: देय: दबू सप्तरीका अध्यक्ष मित्र नारायण श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत नेवा: समाज गुठी रुपनगरका सदस्य अमर श्रेष्ठले गरे । कार्यक्रममा नेवार समुदायका पोशाकमा सजिएका स्थानीय कलाकारहरुले नेवार समुदायको पहिचान झल्कने गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
यसअघि गुठीबाट पन्चकन्या, लाखेनाच र झाकीसहित निकालिएको विशाल र्यालीले कञ्चनरुप नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए ।