• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेसीमाथि गैर नागरिक व्यवहार :  मृगेन्द्र 

मधेसीमाथि गैर नागरिक व्यवहार :  मृगेन्द्र 

 न्यूज टुडे

राजविराज, १२ कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमर सिंह यादवले मधेसी जनतामाथि राज्यले गैर नेपाली नागरिकको व्यवहार गरेको आरोप लगाएका छन् । “जनतासंग जसपा नेपाल” आधारभुत संगठन निर्माण अभियान अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जण्डोलमा सोमबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 
कार्यक्रममा बोल्दै उपाध्यक्ष यादवले सदियौदेखिको भेदभाव र विभेदकारी नीतिका विरुद्ध उत्पीडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । 
“राज्यका शासक बर्गहरुले मधेसमा बस्ने २२ जिल्लाका जनतालाई नेपाली नागरिक समेत ठानेको छैन, राष्ट्रियसभा सदस्य समेत रहेका यादवले भने,”ठूलो जनघनत्व ओगटेको मधेसमा बसोबास गरेका नागरिकलाई गैर नेपालीको व्यवहार गरेको छ।”
५५ प्रतिशत जनसंख्या रहेको मधेसमा १२ प्रतिशत र ४५ प्रतिशत जनसंख्या भएको ठाउँमा ८८ प्रतिशत बजेट विनियोजन गरी मधेसमाथि विभेद गरेको उनको भनाइ छ । 
उनले यस प्रकारको अन्याय विरुद्ध संगठित भएर संघर्षको विकल्प नरहेको बताउँदै आधारभुत तहसम्म संगठन निर्माण गर्न सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गरे । 
जसपा नेपाल सप्तरी निर्वाचन क्ष्रेत्र नम्बर १ की क्षेत्रीय उपाध्यक्ष एवम् वडा अभियान्ता वाणी कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता उमेश प्रसाद यादव, प्रदेश कार्यकारिणी सदस्य एवम् प्रदेश अभियान्ता अरुण देव लगायतकाले  मन्तव्य व्यक्त गरे । 
स्थानीय युवा नेता राज कुमार यादवद्वारा संचालित कार्यक्रममा अभियानको उदेश्य बारे प्रकाश पार्दै गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरे ।  
वडा स्तरीय विस्तारित बैठकमा जिल्ला सदस्य रामदेव यादव, मोतिलाल चौधरी, गाउँपालिका सचिव शम्भु चौधरी, कार्यबाहक सचिव सुर्यमान तामाङ लगायतका स्थानीय नेताकार्यकर्ताको उपस्थिति थियो ।