• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विकास र सुशासनको लागि शासकीय स्वरुप परिबर्तन आवश्यक :  नेता साह

विकास र सुशासनको लागि शासकीय स्वरुप परिबर्तन आवश्यक :  नेता साह
न्यूज टुडे
राजविराज, ११ कात्तिक । 
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिब एवम् पूर्वाअर्थमन्त्री शैलेन्द्र प्रसाद साहले देश विकास र सुशासनका लागि बर्तमान शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । “जनतासंग जसपा नेपाल” आधारभूत संगठन निर्माण अभियान अन्तर्गत सप्तरीको मट्टीगढीमा आइतबार आयोजित वडा स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
नवप्रवेशीलाई पार्टी सदस्यता प्रदान गर्दै पूर्व अर्थमन्त्रीसहितका नेतागण । फोटो : न्यूज टुडे
जसपा नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले भ्रष्टाचार अन्त्यका लागि  शासकीय स्वरुप परिवर्तन गरि जनताद्वारा प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चयन गर्नुपर्ने बताए । 
“बर्तमान संसदीय व्यवस्थाले देशमा चरम भ्रष्टाचारलाई बढवा दिएको छ” पुर्व अर्थमन्त्री साहले भने, मन्त्री बन्नका लागि ठूलो खर्च गरी साँसद भन्ने होड चल्छ, पदमा पुगेपछि चुनावमा गरिएको लगानी असुलतिर लाग्ने हुँदा भ्रष्टाचार त्यहीबाट सुरु हुन्छ। देश विकास, समृद्धि र  सुशासनका लागि शासकीय स्वरुप परिबर्तन गर्नु जरुरी छ ।” 
उनले निर्वाचनमा सबैको सहज पहुँच हुने गरि  खर्च रहित चुनावी प्रणालीको व्यवस्था गर्नु आबश्यक रहेको बताए ।
 प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिद्वारा मनोनयन गरी विज्ञहरु सम्मीलित मन्त्री मण्डल गठन गर्नुपर्नेमा जोड दिदै उनले साँसदहरुलाई आबश्यक ऎन कानुन बनाउने जिम्मा मात्र दिनुपर्ने बताए । 
जसपा नेपाल नेतृत्वमा भएको परिवर्तनकारी आन्दोलनका कारण संघीयता सहितको शासन व्यवस्था स्थापना भएको जिकिर गर्दै जसपा नेपालका केन्द्रीय सचिव साहले व्यवस्था परिवर्तन गरिएपनि जनताको अवस्था उस्तै रहेकोले  जनताको अवस्था परिवर्तनका लागि जसपा नेपालको राज्यको सबै तहमा नेतृत्व अपरिहार्य रहेको बताए । 
उनले उत्पीडित जाती, बर्ग, लिङ्ग र समुदायको पहिचान, प्रतिनिधि र अधिकारको लागि जसपा नेपालमा संगठित हुनुको विकल्प नरहेको उल्लेख गरे । 
जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश कुमार चौधरीको अध्यक्षतामा आयोजित विस्तारित बैठक तथा दिपाबली, नेपाल संवत् , छ्ठ, समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम्  केन्द्रीय अभियान्ता उमेश प्रसाद यादव, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङ,जिल्ला सदस्य रामवेव यादव, मोतिलाल चौधरी, युवा नेता राज कुमार यादव, गाउँपालिका अध्यक्ष मिलन चौधरी, स्थानीय युवा बुद्धिजीवी अरुण कुमार चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे । 
जसपा नेपाल पूर्व जिल्ला सदस्य दिनेश कुमार साहद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीयबासी समेत रहेका प्रदेश अभियान्ता अरुण देवले गरे । 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ दर्जनबढीको संख्यामा जसपा नेपाल प्रवेश गरेका छन् । विजय चौधरीको नेतृत्वमा माओवादी केन्द्र श्याम कुमार चौधरीको नेतृत्वमा जनमत,गोपाल खंगको नेतृत्वमा काँग्रेस, प्रभु सदाको नेतृत्व एमाले परित्याग गरी १५ जना जसपा नेपाल प्रवेश गरेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । 
नवप्रवेशीहरुलाई केन्द्रीय सचिब एवम् पूर्व अर्थमन्त्री साह, केन्द्रीय अभियान्ता यादवलगायतकाले पार्टी सदस्यता प्रदान गरी टीका लगाएर स्वागत गरे ।