जनता समाजवादी पार्टीका नेता उमेश प्रसाद यादवले अरु पार्टी ठगलाई जोगाउने आन्दोलनमा रहेको तथा आफ्नो पार्टी ठगिनेलाई अधिकार सम्पन्न गराउने अभियानमा लागेको बताएका छन् । जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ द्वारा सप्तरीको रतवलामा शनिबार आयोजित “जनतासंग जसपा नेपाल” आधारभुत संगठन निर्माण अभियान अन्तर्गत वडा स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनतासंग जसप्प नेपाल आधारभुत संगठन निर्माण अन्तर्गत वडा स्तरीय भेलामा सहभागीहरु । फोटो : न्यूज टुडे
वडा अध्यक्ष शिवनन्दन लेखीको अध्यक्षता आयोजित विस्तारित बैठकमा बोल्दै नेता यादवले उत्पीडित समुदायले थोरैभएपनि पाएको अधिकार जसपा नेपालकै देन रहेको जिकिर गरे ।
“पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको लडाइँमा जसपा नेपालले अग्रणी भुमिका निर्वाह गरेको छ” जसपा नेपाल केन्द्रीय सदस्य यादवले भने,”अरु पार्टी ठगलाई बचाउने आन्दोलन गर्छन्, हामी ठगिनेलाई अधिकार सम्पन्न गराउने अभियानमा छौँ, अरुको भन्दा हाम्रो आन्दोलनमा फरक भनेको यही हो, अहिले थोरैपनि उत्पीडित समुदायले पाएको अधिकार जसपा नेपालकै देन हो। “
जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ का संस्थापक अध्यक्ष विजय चौधरी सम्मान ग्रहण गर्दै । फोटो : न्यूज टुडे
काँग्रेस-कम्युनिस्टले ३५ बर्षदेखी जनतालाई विभिन्न बाहानामा ठगी गरेको र अहिले नयाँ शक्तिका रुपमा उदायका रास्वपा समेत ऊनीहरुकै पथमा हिडेको आरोप लगाउँदै नेता यादवले सहकारी ठगको अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई जोगाउने अहिलेको आन्दोलनको कुनै तुक नरहेको तर्क गरे ।
उनले रास्वपा सभापति लामिछानेमाथि निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।
संविधान संशोधन गरी उत्पीडित जाति समुदायको अधिकार सुनिश्चित गर्ने सर्तमा जसपा नेपालले बर्तमान सरकारलाई समर्थन दिएको उल्लेख गर्दै नेता यादवले मधेस, थारु, आदिवासी जनजातिलगायतका पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र गरे समर्थन फिर्ता लिएर पार्टी संघर्षमा उत्रिने बताए ।
जसपा मधेस प्रदेश कार्यकारिणी सदस्य अरुण देवले पहिचान र अधिकार सुनिश्चितताका लागि सम्पुर्ण शोषित पीडित, उपेक्षितहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । मधेस आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र थप अधिकार प्रातिका लागि राज्यबाट बहिष्करणमा परेका महिला, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित समुदाय एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।
जसपा युवा नेता राज कुमार यादवले जनतालाई पार्टीमा जोड्ने तथा जनताको गुनासो, समस्या र अपेक्षालाई सम्बोधन गर्ने अभियानमा सबैपक्षको सक्रिय सहभागीता हुनुपर्नेमा जोड दिए । जसपा नेपालले मात्र जातीय बर्गिय समस्यालाई अन्त गर्न सक्ने जिकिर गर्दै उनले पार्टी संगठनमा जोडिन अपिल गरे ।
स्थानीय पूर्व प्रधानाध्यापक रमानन्द लेखी, युवा बुद्धिजीवी सियाराम चौधरीले पार्टीलाई पूर्ण समाबेशी, शक्तिशाली बनाउनु पर्नेमा जोड दिए । उनीहरुले पार्टी कमजोर अवस्थामा पुग्नुमा नेतृत्वको असफलता भएको टिप्पणी गर्दै केन्द्रीय नेतृत्व परिवर्तनमा पुर्नविचार गर्ने दिन आएको बताए ।
कार्यक्रम संचालन जसपा नेपाल गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरीले गरेका थिए । उक्त अवसरमा स्थापनादेखि पार्टीको संस्थापक अध्यक्षको रुपमा रही पार्टी संगठन निर्माणमा योगदान गरेको भन्दै पूर्व वडा अध्यक्ष विजय कुमार चौधरीलाई सम्मान गरिएको थियो । उनलाई पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता उमेश प्रसाद यादवले गम्छा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा जसपा नेपालका जिल्ला सदस्य एवम् अभियान्ताहरु रामदेव यादव, मोतिलाल चौधरी, गाउँपालिका कार्यबाहक सचिव सुर्यमान तामाङलगायतका स्थानीय बुद्धिजीवी, समाजसेवी तथा पार्टी नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।