न्यूज टुडे
राजविराज,०८ कात्तिक ।
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे एघारौँ दिन बिहीबार लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीबाट ९ जनाकाे उद्धार भएकाे छ ।”यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा” भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे ।
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार सिद्धार्थनगर नगरपालिका-१३ बाट २ जना, ३ बाट १ जना, १ बाट १ जना, मायादेवी गाउँपालिका-६ बाट २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बाट १ जना, बुटवल उपमहानगरपालिका-२ फूलबारीबाट २ जना गरि ९ जना सडक मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
उद्धार भएका ८ जना पुरुष र १ जना महिलालाई बिहीवार मानवसेवा आश्रम रुपन्देहीकाे तिलाेत्तमा सेवाकेन्द्रमा गृहप्रवेश गराईएकाे छ । उद्धार टाेली बिहीबार रुपन्देहीकाे तिलाेत्तमा, आमसतिया गाउँपालिका, सिद्धार्थनगर, मायादेवी, लुम्बिनी साँस्कृतिक, गैडहवा, सैनामैना, बुटवल
लगायत क्षेत्रहरुमा उद्धार सेवामा खटिएकाे जनाइएको छ ।
शुक्रबार भने टाेली बुटवल, देवदह, लगायत नवलपरासी जिल्लाका विभिन्न क्षेत्रहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम रहेकाे छ ।
बत्तीस दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूकाे सहभागिता रहेकाे छ ।
उद्धार यात्राकाे ११ औं दिनसम्मकाे अवधिमा १ सय ७ जना सहयाेगापेक्षीहरुकाे उद्धार गरिएकाे छ । २८ महिला र ७९ जना पुरुषकाे सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेको मानवसेवा आश्रमले जनाएको छ ।