न्यूज टुडे
राजविराज, ०७ कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव एवम् पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले स्थानीय तह निर्वाचन दल विहीन हुनुपर्नेमा जोड दिएका छन् । जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ नम्बर वडा समितिद्वारा सप्तरीको सितापुरमा बुधबार आयोजित “जनतासंग जसपा नेपाल “आधारभुत संगठन निर्माण अभियानको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

कार्यक्रममा बोल्दै सचिब साहले स्थानीय तह निर्वाचन खर्चिलो र भट्किलो बन्दा गरिव विपन्न समुदाय जनप्रतिनिधि हुनुबाट बन्चित हुनुपरेको बताए । उनले स्थानीय तह निर्वाचनलाई पुर्ण समानुपातिक बनाउँदै दलविहीन बनाउनु पर्नेमा जोड दिए ।स्थानीय निर्वाचनलाई दलविहीन र पुर्ण समानुपातिक बनाउँदा चुनाव महंगो नहुने र गरिव, विपन्न समुदाय र बर्गको स्थानीय सरकारमा प्रतिनिधित्व हुने उनको भनाइ थियो ।
जनता समाजवादी पार्टीको आन्दोलन र संघर्षबाट थोरैभएपनि जनताले परिवर्तनको महुशुस गर्न पाएको जिकिर गर्दै मधेश प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेको जसपा नेपाल केन्द्रीय सचिब साहले जसपा नेपाल नेतृत्वको सरकारले २ नम्बरबाट पहिचानको आधारमा प्रदेशको नाम मधेस राखिएको उल्लेख गरे ।
जसपा नेपाल पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि दृढतापूर्वक अगाडि बढेको उल्लेख गर्दै पूर्वमन्त्री साहले सामाजिक न्याय र समानताको लागि शोषित पीडित र उपेक्षित समुदायलाई पार्टीमा संगठित हुन आग्रह गरे ।

उनले “जनतासंग जसपा नेपाल, संगठन निर्माण अभियान” जनतालाई पार्टीसंग जोड्ने अभियान भएकोले पार्टीको नीति, सिधाान्त र विचार स्पष्ट पारी जनतासंग भेटघाट गर्न कार्यकर्तालाई निर्देशन दिए ।
विकास र समृद्धिको बाधक भ्रष्टाचार भएको बताउँदै पूर्व मन्त्री साहले भ्रष्टाचार विरोधी अभियानमा कडाइकासाथ लाग्नुपर्नेमा जोड दिए । उनले भ्रष्टचारीलाई संरक्षण गर्न र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउन एमाले-काँग्रेस गठबन्धन सरकार गठन भएको आरोप लगाए ।

आन्दोलनका उपलब्धि रक्षा गर्न र थप अधिकार सुनिश्चितताको लागि संघर्षको विकल्प नरहेको बताउँदै उनले अहिलेको अभियान समेत आन्दोलनकै तयारीको रुपमा ७७ जिल्लाकै टोल-टोलमा संचालन गरिएको उल्लेख गरे ।
संघीयतासहितको बर्तमान शासन व्यवस्था जसपा नेपालकै कठोर संघर्षले स्थापना गर्न सफल भएको दावी गर्दै उनले अझैपनि आफुहरुले चाहेको जस्तो आफ्नै शासन प्रशासनसहित संघीयता आइनसकेको बताए ।
बर्तमान गठबन्धन सरकारबाटै संघीयतामा खतरा देखिएको भन्दै उनले संघीयको कारण देशमा भ्रष्टाचार बढेको, आर्थिक बोझ थपिएको भन्न्ने भ्रम त्यसैको उपज रहेको बताए ।
महिला, दलित, थारु, आदिबासी जनजाति, मुश्लिम समुदायले समानुपातिक निर्वाचनकै कारण आरक्षण पाउँदा ठुलो संख्यामा राज्यको निकायमा प्रतिनिधित्व गर्न पाएको चर्चा गर्दै साहले गठबन्धन सरकारले आरक्षण हटाउनको लागि समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने षड्यन्त्र गरेकाले त्यस विरुद्ध शोषित पीडित, उपेक्षित र विभेद र अन्यायमा परेको जातिसमुदाय संगठित भएर प्रतिकार गर्नुको विकल्प नरहेको तर्क गरे ।
जसपा नेपाल अग्नीसाइर क्रुष्णासवरन गाउँपालिका २ का वडा अध्यक्ष श्याम कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य उमेश प्रसाद यादव, प्रिया सिंह थारु, पूर्व संघीय परिषद सदस्य श्यामदेव यादव, मधेश प्रदेश कार्यकारिणी सदस्य अरुण देव, जिल्ला सचिब हरेराम यादव, बौद्धिक पेशाकर्मी महासंघ मधेस प्रदेश अध्यक्ष जितेन्द्र खड्गा लगायतकाले मन्तव्य व्यक्त गरे ।
यसैगरी जसपा नेपाल जिल्ला सदस्य रामदेव यादव, मोतिलाल चौधरी, कुशेश्वर चौधरी,पुर्व जिल्ला सदस्य दिनेश कुमार साह, नेता राज कुमार यादव, गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरी, स्थानीय वन्दाना चौधरीलगायतले समेत विचार व्यक्त गरे ।
जसपा नेपाल गाउँपालिका कार्यबाहक सचिव सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत वडा नम्बर २ का उपाध्यक्ष एवम् गाउँपालिका सह सचिब भिम बहादुर राईले गरे ।
कार्यक्रममा पुर्व वडा अध्यक्षहरुलाई पार्टीका केन्द्रीय सचिब पूर्व अर्थमन्त्री साहले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
भेलाले वडा नम्बर २ अन्तर्गतका बुथ समिति र टोल समिति गठन गर्ने र सदस्यता वितरण गर्ने निर्णय गरेको वडा नम्बर २ का सचिव सन्तोष कुमार चौधरीले जानकारी दिए ।