स्वास्थ्य चौकी सितापुरमा ( सरसफाइ मजदुर) स्वीपरको काम गर्दै आएकी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाकी एक ५३ बर्षीय महिला बेपत्ता भएकी छिन् । स्थानीय जुलुम मरिक (डोम)की श्रीमती गिता मरिक दुई हप्तादेखी हराएकी हुन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुर स्वास्थ्य चौकीमा स्विपरको रुपमा काम गर्दै आएकी श्रीमती असोज २४ गते साँझदेखि सम्पर्कविहीन भएको श्रीमान जुलुम मरिकले बताए ।
दशबर्षदेखी स्वास्थ्य चौकीमा सरसफाइ मजदुरको काम गर्दै आएकी श्रीमती कार्यक्षेत्रबाटै हराएपछी आफन्त तथा इष्टमित्र सबै ठाउँ खोज्दा समेत फेला नपरेको उनले बताए ।
“म मट्टीगढा स्थित घरमै बस्थे, श्रीमती सितापुरमै बस्थिन, दिनभरी घरको काम गरेपछि आफुपनि सितापुरमा सधै आउथे र संगै बस्थे” उनले भने,”दशैको अष्टमीको दिन थियोे, घरबाट आउन अलिक ढिलो भयो, साढेसात बजेतिर स्वास्थ्य चौकी पुगे, त्याहाँ श्रीमतीलाई देखिन, सोही दिनदेखि नेपाल-भारतको विभिन्न ठाउँमा भएको आफन्तहरु भएको ठाउँमा खोजतलास गरे कतै फेला परेन।”
श्रीमतीलाई रुपनी गाउँपालिका १ घरभई अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ विशाल चौकमा शम्भुनाथ मिष्ठान्न भण्डार संचालन गरी बस्ने बर्ष ५५ को मनोज साह हलुवाहीले भगाएर वेपत्ता बनाएको जुलुमले आरोप लगाए ।
मिष्ठान्न पसल संचालक रामपुकार साहको जेठो छोरो मनोज समेत सोही दिनदेखि हराएकोले श्रीमतीलाई उसैले बेपत्ता बनाएको उनको आरोप छ। यस बारे मनोजको बुवासंग बुझ्दा यसले आफ्नो प्रतिष्ठा खतम पारीदियो भन्दै पन्छिन खोजेको जुलुमले बताए ।
श्रीमतीले नगद १ लाख ५० हजारसहित ५० हजार बराबरको सुनचाँदीको गरगहना लिएर फरार भएको उनले जानकारी दिए ।
डोमसमुदायले अन्तरजातीय विवाह गरेमा,कसैसँग भागी विवाह गरेको ठहरिएमा आफ्नो जातलाई दण्ड सजायको रुपमा विशाल भोज खुवाउनु पर्ने परम्परा रहेको उनले बताए । साहले आफ्नो श्रीमतीलाई भगाई विवाह गरेको ठहरिएको खण्डमा वा आफुले फिर्ता ल्याएपनि लाखौं खर्च गरेर भोज खुवाउनु पर्ने उनले बाध्यता सुनाए ।
लाखौं खर्च गरेर भोज खुवाउन नसकिए जातबाट सम्पुर्ण परिवार एकलिएर बस्नुपर्ने जातीय प्रथाजन्य कानुन रहेको उनले जानकारी गराए ।
श्रीमती हराउँदा आफू ठुलोमारमा परेको बताउँदै उनले खोजतलासमा सहयोग गरीदिन स्थानीय प्रशासन,मानवअधिकारकर्मी, संचारकर्मी, बुद्धिजीवी समाजसेवी सम्पुर्णसंग आग्रह समेत गरे ।