• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा राष्ट्रिय उद्धार यात्राको टोली :  दर्जनबढी सहयोगापेक्षी सडक आश्रीत मानवको उद्धार

सप्तरीमा राष्ट्रिय उद्धार यात्राको टोली :  दर्जनबढी सहयोगापेक्षी सडक आश्रीत मानवको उद्धार
न्यूज टुडे,
राजविराज, ०२ कात्तिक । 
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा सप्तरी आइपुगेको छ । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ पूर्व मेचीदेखि सुरु भएको उद्वार यात्रा राजविराजमा शुक्रबार आइपुगेको हो । 
उद्वार गरिएका सषक आश्रीत मानवहरु । फोटो : न्यूज टुडे
राष्ट्रिय उद्वार यात्राको टोली तथा स्थानीय जनप्रतिनिधिहरुले शुक्रवार विहान संयुक्त रुपमा सचेतनामुलक र्‍याली प्रदर्शनसहित राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी नगरपालिकाको प्राङ्गणमा जम्मा भई अभियानको उदेश्य बारे जानकारी गराइएको थियो । 
बेवारिसे अवस्था रहेका सडक आश्रेत मानवसंग कुराकानी गर्दै आनी छोइम्ग डोल्मा । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सडक पेटीमा कोही बस्न नपरोस् तथा सडकपेटी मुक्त मानव बनाउने उदेश्यकासाथ यात्रा सुरु गरिएको बताए । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँने अठोटका साथ यात्रा सुरु गरिएको बताउँदै उनले सहयोगका लागि सरोकारवाला सबैलाई आग्रह गरे ।  उनले यात्रामा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, विभिन्न संघसंस्थाबाट अपार माया र सहयोग पाएको भन्दै खुशी व्यक्त गरे । 
जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता एवम् पूर्वमन्त्री महेश प्रसाद यादवले मानवीय सेवामा समर्पित अभियान्ताहरुलाई धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारबाट हुने सहयोगका लागि पहल गर्ने तथा आफ्नो तर्फबाट समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 
उक्त अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा , जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह,राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायतका उपस्थित  थियो । 
अभियान अन्तर्गत  सप्तरीमा २ महिलासहित १३ जना  सयोगापेक्षी सडक आश्रीत मानवको उद्धार गरिएकाे अभियान टोलीमा सहभागी मानवाधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलले जानकारी दिए । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा उदयपुरबाट १६ जना, झाप्पबाट १२ जना, माेरङ जिल्लाबाट ४ जना, सुनसरीबाट १२ जना बेवारिसे सडक आश्रीत मानवको उद्वार गरिएको जानकारी दिए । 
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरू रहेका जनाइएको छ ।मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।