• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हनुमाननगरमा बाढी तथा डुवान पीडितको प्रदर्शन

हनुमाननगरमा बाढी तथा डुवान पीडितको प्रदर्शन
न्यूज टुडे
राजविराज, ३० असोज । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित हनुमाननगरमा बुधबार बाढी तथा डुवान पीडितहरुले विशाल विरोध प्रदर्शन गरेको छ । राहत वितरणमा काखापाखा गरेको भन्दै पीडितहरुले जनप्रतिनिधि विरुद्ध चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेको हो ।  
भ्रष्ट वडा अध्यक्ष मुर्दावाद, बाढी पीडितलाई राहत देउ, बढीबाट बाली नष्ट भएको किसानलाई राहत देउ, राहत वितरण भएकाहरुको नामावली सार्वजनिक गर, वडाको योजना सार्वजनिक गर, वडा तथा नगर परिषद समयमा गर, नातावाद कृपावाद अन्त्य गर, दादागिरी चल्दैन, गरिवलाई राहत देउ, लगायतका नारा लगाउँदै सयौंको संख्यामा रहेका पीडितहरुले हनुमाननगर बजार परिक्रमा गरेका थिए । 
राहत वितरणमा भेदभाव गरी जनप्रतिनिधिहरुले राहत आफ्ना आसेपासे तथा आफैंले राख्ने गरेकोले पारदर्शी रुपमा राहत वितरण गर्नुपर्नेसहितका विभिन्न माग राखी विरोध प्रदर्शन गरेको आन्दोलन परिचालनका संयोजक शैलेन्द्र यादवले बताए । राहत वितरणको नामावली सार्वजनिक गर्न तथा वास्तविक पीडितलाई राहत प्रदान गर्न जनप्रतिनिधिहरुको पटकपटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएपछि सडक संघर्षमा उत्रिन बाध्य भएको उनले जानकारी दिए । 
वडाका आधा टोलमा राहत वितरण गरेको तथा तिमीहरु हाम्रो पार्टीको होइन भन्दै  राहत नदिएको पीडितहरुले गुनासो गरे । पक्की घर भएका तथा पानी नपसेका वडा अध्यक्ष निकटले राहत पाएको तथा वास्तविक बाढी तथा डुवानमा परी क्षति भएकाले अहिलेसम्म राहत नपाएको उनीहरुले आरोप लगाए । 
आन्दोलनका अगुवाइ गरेका सदानन्द मुखियाले विभिन्न माग राखी शान्तिपुर्ण रुपमा वडा अध्यक्षलाई भन्दा सुनुवाइ नभएपछि ४ वटा वडा कार्यालयमा तालाबन्दी गरी ध्यानाकर्षण गराइएको बताए । उनका अनुसार ५ , ७,  १२ र १३ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । उनले अझैपनि माग सम्बोधन नभए नगरपालिका कार्यालयमा तालाबन्दी गरी सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 
वडा नम्बर १३ की पुनम कुमारी मुखियाले शान्तिपुर्ण संघर्षका कार्यक्रमबाट माग पूरा नभए आन्दोलनलाई थप उग्र बनाउने बताइन् । समयमै माग पूरा नगरे आन्दोलनले विकाराल रुप धारण गर्न सक्नेप्रति सचेत गराउँदै उनले विरोध प्रदर्शन सदरमुकाम राजविराज र राजधानी काठमाडौसम्म पुर्याउने बताइन् । उनले अन्याय तथा राहत वितरणमा गरिएको भ्रष्टाचार विरुद्ध सडक संघर्षको साथै कानुनी लडाई समेत लड्ने बताइन् ।  
यसअघि पनि राहत माग गर्दै बाढी तथा डुवान पीडितहरुले  हनुमाननगर बजारमा विरोध प्रदर्शन गरेका थिए । 
गतसाता अविरल बर्षासंगै सप्तकोसी नदि तथा खाडो, महुली, सुन्दरी खोलामा आएको बाढीले सयौंघर डुवानमा परि क्षति भएको छ भने हजारौं विघामा किसानहरुले  लगाएको बाली डुवान हुनुकोसथै बालुवाले पुरिएर नष्ट भएको छ ।