न्यूज टुडे
राजविराज, ३० असोज ।
थारु भाषा, संस्कृति,संरक्षण संघ नेपालका केन्द्रीय अध्यक्ष साँस्कृतिक अभियन्ता गयानन्द चौधरीले पुर्खादेखिको मान्दै आएको संस्कृति संरक्षण अभियान जारी रहने बताएका छन् । थारु भाषा संस्कृती संरक्षण संघ नेपालद्वारा उदयपुरको त्रीयूगा नगरपालिका १३ बेहरबामा बुधबार आयोजित साँस्कृतिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै साँस्कृतिक अभियान्ता अध्यक्ष चौधरीले पूर्वजले अर्जेको भाषा, संस्कृतिलाई पुस्तान्तण गरी संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले संस्कृति संरक्षण तर्फ युवापुस्ताहरुले चासो नदिएको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष चौधरीले विभिन्न जातीय संघ संगठन पुर्वज भाषा संस्कृति संरक्षणतर्फ भन्दा आफ्नै जातिमाथि शासन गर्न अग्रसर रहेको आरोप लगाए ।
उनले संघले थारुसहितका सबै जातिसमुदायको प्राचीन भाषा, भेषभुषा, कला, संस्कृति,संरक्षण, सम्बर्द्धन, प्रदर्शन, व्यवस्थापन गर्ने अभियान चलाएकोले सहयोगका लागी सरोकारवाला सबैलाई आग्रह गरे ।
थारु, भाषा, संस्कृति संरक्षण संघ नेपाल त्रीयूगा नगर अध्यक्ष महेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा थारु,भाषा, संस्कृति संरक्षण संघ नेपाल उदयपुरका अध्यक्ष लक्ष्मी प्रसाद चौधरी, सल्लाहकार शिव नारायण चौधरी, आशाराम चौधरी, सप्तरीको सप्तकोशी नगर अध्यक्ष सत्यनारायण चौधरीलगायतकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संचालन थारु भाषा,संस्कृती संरक्षण संघ नेपाल त्रीयूगा नगरपालिकाका सचिव कृतनारायण चौधरीले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, प्राध्यापक, प्रोफेसर, शिक्षक, डाक्टर, बुद्धिजीवी, समाजसेवी,संघ आवद्ध राष्ट्रिय कलाकारलगायतका विभिन्न स्थानीय तहका साँस्कृतिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।