मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले विगत जस्तो योजना खरिद विक्री गर्ने धन्दालाई पुर्ण रुपले निषेध गरेको बताएका छन् । जनमत पार्टी रुपनी गाउँपालिकाद्वारा सप्तरीको विरेन्द्र बजारमा आइतबार बडा दशै, दिपावली, छ्ठ पर्वको अवसारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रधेश सरकारले मधेश प्रदेशको सर्वाङ्गिण विकासका लागि बजेट नीति तथा कार्यक्रम ल्याएको बताए । बजेटमा कृषी, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले बजेटको कार्यान्वयनबाट सिंचाइ, स्वास्थ्य, शिक्षा र यातायातका क्षेत्रमा देखिएको ५० प्रतिशत समस्या सम्बोधन हुने दावी गरे ।
मुख्यमन्त्री सिंहले विगतमा योजना खरिद विक्री हुँदा विकास भन्दा बढी भ्रष्टाचार हुने गरेको टिप्पणी गर्दै आफू नेतृत्वको सरकारले बजेट खरिद विक्री हुने कार्यलाई पुर्ण रुपले निषेध गरेको बताए ।
उनले प्रदेश सरकारले ठोस निर्माण कार्यमा खर्च गर्ने बजेट बनाएको भन्दै कार्यकर्ता पोस्ने बजेट नभएको जिकिर गरे । आफुलाई मुख्यमन्त्री भन्दा मुख्यसेवकको रुपमा स्वीकार गर्न भन्दै उनले जनमत पार्टीका जनप्रतिनिधिहरु सबैलाई जनताको सेवक ठानेर काममा खटाउन आग्रह गरे ।
जनमत पार्टी रुपनी गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
केन्द्र सरकारले सातै प्रदेश भन्दा मधेस प्रदेशलाई कम बजेट दिएर भेदभाव गरेकोमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशबाट ५० प्रतिशत राजस्व संकलन गरेर कम बजेट दिनु न्यायोचित नभएको भन्दै आक्रोश व्यक्त गरे ।
जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता एवम् पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादवले जनताको पक्षमा काम गर्न अबरोध सिर्जना गरे जनमत पार्टी गठबन्धनबाट अलग हुने चेतावनी दिए ।
भ्रष्टाचार मुक्त सरकार, भ्रष्टाचार मुक्त समाज निर्माण जनमत पार्टीको मुख्य नीति रहेको भन्दै यादवले यसमा गठबन्धनबाट कुनै अबरोध सिर्जना भए गठबन्धनलाई त्यागेर अभियानलाई अगाडि बढाउन बाध्य हुने बताए ।
पहाडी मानसिकता बोकेका कर्मचारीका कारण मधेसमा भ्रष्टाचार बढेको नेता यादवले आरोप लगाए ।
जनताको मतले जनप्रतिनिधि भएकाहरु जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै नेता यादवले जनताप्रति गैरजिम्मेवार जनप्रतिनिधिहरुलाई तिरस्कार गर्नुपर्नेमा जोड दिए ।
जनमत पार्टी रुपनी गाउँपालिका अध्यक्ष संतोष इसरको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, पूर्व अध्यक्ष हरेराम यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका प्रत्यासी रामप्रसाद मण्डल, जनमत पार्टी अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दुर्गानन्द यादव, साविक रायपुर गाविस अध्यक्ष मुखीलाल यादव, मावि हर्दियाकटैयाका व्यवस्थापन समिति अध्यक्ष रामआशिष इसर, जनमत रुपनी १ का अध्यक्ष रामअवतार यादव, प्रमोद माझीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
जनमत पार्टीका युवा नेता भगवती यादवद्वारा संचालित कार्यक्रममा स्वागत जनमत पार्टी रुपनी गाउँपालिका ६ का अध्यक्ष देवनारायण साहले गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता, जनप्रतिनिधि,पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी समाजसेवी तथा जनमत पार्टीका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।