उत्तम आचार्य
कञ्चनरुप, २३ असोज ।
नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले रुपनगरमा रहेको रुपनगर नन्दलाल संग्रौला क्याम्पस शिक्षा क्षेत्रमा एक उदाहरणीय शैक्षिक संस्थाको रुपमा रहेको बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा बुधबार क्याम्पसको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता प्याकुरेलले क्याम्पसले दिनप्रतिदिन प्रगति गरेकोमा खुशी व्यक्त गर्दै देशकै उदाहरणीय शैक्षिक संस्थाको रुपमा पहिचान बनाएको भन्दै प्रशंसा गरे । क्याम्पसको स्तर वृद्धिका लागि क्याम्पस प्रशासन, संचालक समिति र अभिभावकको ठुलो योगदान रहेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता प्याकुरेलले क्याम्पसलाई थप उचाइमा पुर्याउन सबै पक्षको सहयोग हुनुपर्नेमा जोड दिए ।

क्यापसले गुणस्तरीय र उपयोगी शिक्षा प्रदान गर्नुपर्छ भन्ने सोच भएका क्याम्पस प्रमुख दिपक गजुरेल तथा अध्यक्ष गिरीराज संग्रौला जस्ता अनुभवी व्यक्तित्व पाएकै कारण यस्तो उपलब्धि हाँसिल भएको भन्दै उनले समाज परिवर्तन चाहने हामी जस्ता राजनीतिककर्मी तथा समाजिक रुपान्तरणका पक्षधरले उहाँहरुलाई सहयोग गर्नुपर्ने बताए ।
“क्याम्पसका लागि केहि गर्नुपर्छ भनेर लागेकै थिएँ, आफुबाट हुनसक्ने सहयोग पनि गरेकै हुँ”, नेता प्याकुरेलले भने, रुपनगरमै घर भएपनि कार्यव्यस्तताको कारण अलिक कम बसाई हुन्छ, भनेजस्तो सहयोग गर्नु सकेको छुईन, अहिले मधेश प्रदेशको सरकारमा एमालेकै बाहुल्यता छ,शिक्षामन्त्री पनि हाम्रै छ, प्रदेश सरकारबाट हुने सहयोगका लागि पहल गर्ने विश्वास दिलाउँछु ।”
नेता प्याकुरेलले क्याम्पसको समग्र विकासका लागि सरकारी स्तरबाट पाउने सहयोगका लागि सक्रियताकोसाथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कञ्चनरुप नगरपालिकाका पूर्व नगरप्रमुख बसन्त मिश्रले शिक्षा क्षेत्रको सुधारका लागि तीनै तहका सरकारले चासो नदिएको आरोप लगाए । सरकारी उदासीनताकै कारण बर्तमान शिक्षा कुनैपनि ठाउँमा उपयोगहीन हुन पुगेको बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरका लागि लेबर उत्पादन गर्ने अहिलेको शिक्षाको कुनै औचित्यता नभएको टिप्पणी गरे ।
उनले गुणस्तरीय र सबै क्षेत्रले खोजी एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम लाग्ने शिक्षा प्रदान गर्नु आजको आबश्यकता रहेको उल्लेख गरे । राज्यले सबैभन्दा बढी शिक्षामा ध्यान दिनुपर्नेमा त्योसो भइ रहेको छैन भन्दै उनले आक्रोश व्यक्त गरे ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेल, अभिभावक इश्वरी प्रसाद काफ्ले लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
क्याम्पस प्रमुख गजुरेलद्वारा प्रस्तुत साँगठानिक एवम् प्रगति प्रतिबेदन तथा भावी नीति तथा कार्यक्रम र सहायक क्याम्पस प्रमुख श्रवण कुमार चौधरीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन साधारणसभाबाट सर्वसम्मत पारित गरिएको थियो ।
उक्त अवसरमा नेता प्याकुरेलले सहयोग स्वरुप १ थान ल्यापटपसहित पुस्तक क्याम्पसलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम संचालन शिक्षक लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।
यसैगरी साधारणसभाले पुनः गिरिराज संग्रौलाको अध्यक्षतामा ७ सदस्यीय क्याम्पस संचालक समिति गठन गरेको छ । गठित समितिको सदस्य सचिबमा क्याम्पस प्रमुख दिपक गजुरेल, सदस्यहरुमा वडा अध्यक्ष देवी बहादुर खत्री, इश्वरी प्रसाद काफ्ले, राजकुमार साह, सुरज पोखरेल,बिभा देवी महतो, रिता पोखरेल रहेका छन् ।