• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इटहर्वा बजारको जग्गा संरक्षणका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार  छु : अध्यक्ष चौधरी

इटहर्वा बजारको जग्गा संरक्षणका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार  छु : अध्यक्ष चौधरी
न्यूज टुडे
राजविराज, २० असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले बहुचर्चित इटहर्वा बजारको जग्गा संरक्षणका लागि जस्तोसुकै चुनौतीको सामना गर्न पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार इटहर्वा बजार व्यवस्थापन समितिको नवौं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले इटहर्वा बजारको जग्गा  चार दशकभन्दा पहिलेदेखि बजारले उपभोग गरिरहेकोले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
“इटहर्वा बजारको इतिहास सप्तरीकै पुरानो शहर बजारभन्दा कम छैन, हाटबजारका लागि ४ दशक पहिलै नै विभिन्न भौतिक संरचना निर्माण गरी निरन्तर रुपमा बजार लाग्दै आएको छ” वडा अध्यक्ष चौधरीले भने, कुनै व्यक्तिले जग्गा हड्पने दुष्प्र्यास गरे सफल हुने छैन, बजारले उपभोग गरेको जग्गा संरक्षणमा सबैको साथ सहयोग आबश्यक छ।” 
आफू पदमा रहुन्जेल तथा पदमा नभएपनि बजारको जग्गा संरक्षणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष चौधरीले बजारको जग्गा संरक्षणका लागि बजारसमितिलाई सक्रिय हुन आग्रह गरे । 
“जग्गा आफ्नो भएको दावी गर्दै विभिन्न व्यक्ति चारकिल्ला सिफारिस तथा मालपोत काट्न दवाव दिन आयो । ज्यान मार्ने सम्मको धम्की दियो” अध्यक्ष चौधरीले भने, दवाव, प्रलोभन तथा प्रभावमा पार्ने कोशिस   गरियो, अख्तियारले पनि जवाफ माग्यो । बजारमा निर्माण भौतिक पूर्वाधार र उपभोग गरेकोले सिफारिस र मालपोत नकाटेको जवाफ फर्काएँ ।”
इटहर्वा बजारको जग्गा सार्वजनिक भएको जिकिर गर्दै  अध्यक्ष चौधरीले सार्वजनिक सम्पत्ति संरक्षणका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए ।
गाउँपालिका स्तरीय वेथिती विरुद्ध संघर्ष समिति संयोजक एवम् अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरीले इटहर्वा बजारको जग्गा संरक्षणका लागि संघर्षको विकल्प नरहेको बताए । उनले स्थानीय जनप्रतिनिधिहरुसंग समन्यात्मककारी भुमिका निर्वाह गर्दै जग्गा हाँसिलका लागि अगाडि बढ्न बजार समितिलाई आग्रह गरे । 
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् पत्रकार बृजमान तामाङले बजार विकासका लागि ठोस निती तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।  बजारको जग्गा संरक्षणमा वडाले खेलेको भुमिकाको प्रशंसा गर्दै उनले सार्वजनिक हितका लागि हुने कार्यमा राजनीतिक दल, जनप्रतिनिधि तथा सम्पुर्ण बुद्धिजीवी, समाजसेवीको समर्थन  हुनु जरुरी रहेको बताए । 
बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार इन्जिनियर अशोक कुमार चौधरी, साविक सितापुर गाविसका उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी, गाउँपालिका उपाध्यक्षकी प्रत्यासी उम्मेदवार निशा चौधरी, थारु महिला सभा सप्तरीकी पूर्व सभापति सन्तोषी चौधरी, रामजानकी बजार व्यवस्थापन समिति मट्टीगढाका अध्यक्ष भगवती प्रसाद चौधरी, स्थानीय बुद्धिजीवी केशवलाल चौधरी, शिवनन्दन लेखी, श्याम कुमार चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे । 
स्थानीय युवा राम प्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत बजार व्यवस्थापन समितिकी कोषाध्यक्ष लक्ष्मी यादवले गरेकी थिइन् ।