सप्तरीका नवागन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक( एसपी) ढकेन्द्र खतिवडाले अपराध नियन्त्रणमा मिडियाको अहम् भुमिका रहने बताएका छन् । जिल्ला प्रहरी कार्यालयद्वारा राजविराजमा शनिबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
परिचयात्मक कार्यक्रममा सहभागी प्रहरी उपरीक्षक खतिवडासहित पत्रकारहरु । फोटो : न्यूज टुडे
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी खतिवडाले अपराध नियन्त्रण तथा जिल्लामा शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए ।
“सप्तरीमा यसअघि पनि जिल्ला ट्राफिक प्रहरी प्रमुखको रुपमा ११ महिना जिम्मेवारी सम्हालेका थिएँ” एसपी खतिवडाले भने,”त्यस बेलापनि पत्रकार ज्यूहरुसंग सहकार्यमै सफलता मिलेको थियो । छिन्नमस्ता भगवतीको कृपाले जिल्ला प्रहरी प्रमुखको रुपमा फेरी सप्तरीमा सेवा गर्ने अवसर प्राप्त भएकोले जिल्लाबासी पत्रकार ज्यूहरुबाट साथ सहयोग पाउनेमा पुर्ण विश्वस्त छु ।”
उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
“प्रहरीको एकल प्रयासले अपराध नियन्त्रण हुन सक्दैन”, उनले भने, “अपराध नियन्त्रणमा मिडियाको अहम् भुमिका हुन्छ, जिल्लाको शान्ति सुरक्षा कायम गराउन तथा अपराध नियन्त्रणको सवालमा पत्रकारसंगको सम्बन्ध सधै सुदृढ राख्नेछु।”
पत्रकारको सुरक्षा, सम्मान र सूचना उपलब्ध गराउने कार्यमा कमी आउन नदिने बताउँदै उनले हिजोको भन्दा पत्रकारहरुसंगको सम्बन्ध राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
दशैलगायतका चाडवाडको समयमा सुरक्षा चुनौती थपिन सक्ने भन्दै एसपी खतिवडाले जिल्लाको शान्ति सुरक्षा तथा अपराधिक घटना नियन्त्रणमा सहयोगका लागि आग्रह समेत गरे ।
सडक सुरक्षा, चोरी तस्करी, लागू औषध, जिल्ला प्रहरी भित्र हुने भ्रष्टाचार, राजनीतिक दवाव, अपराधी गिरोहले प्रभाव र प्रलोभनमा पार्ने तथा विचोलियाको चलखेल नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न नवागन्तुक प्रहरी प्रमुख खतिवडालाई सहभागी पत्रकारहरुले सुझाव दिएका छन् ।
सप्तरीमा पछिल्लो ६ महिना यता प्रहरीले खेलेको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सहभागी पत्रकारहरुले जनतालाई भन्दा अपराधीक गिरोह, गुण्डा, तस्कर, भ्रष्टचारीको संरक्षणमा प्रहरीले बढी सक्रियता देखाएकाले यस्ता क्रियाकलाप नियन्त्रण गरि प्रहरीप्रति सर्वसाधारण जनतामा उठेको अविश्वासलाई विश्वासमा परिणत गर्ने सफलता हाँसिल होस् भन्दै शुभकामना व्यक्त गरे ।
असक्षम प्रहरी नेतृत्वका कारण सयौं मुद्दाहरुमा अदालतबाट परमादेश जारी हुँदा पनि दर्ता नभएको चर्चा गर्दै प्रहरी अपराधीहरुको प्रभाव र प्रलोभनमा पर्दा सुरक्षा चुनौती थपिएका कारण जिल्लामा पत्रकारिता गर्ने बाताबरण असहज भएको पत्रकारहरुको भनाइ थियो।
उनीहरुले स्वतन्त्र निष्पक्ष र सहज बाताबरणमा पत्रकारहरुले काम गर्ने बाताबरण पाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अबधेश कुमार झा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, नेपाल पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वास, प्रदेश परिषद सदस्य बृजमान तामाङ, जिल्ला कार्यसमिति सदस्य विद्यानन्द राम,कृष्ण कुमार मण्डलले सुझाव दिएका थिए ।
यसैगरी समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य नर्मदेव यादव, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, कोषाध्यक्ष प्रवेश मिश्र, पत्रकार सौरभ यादव, पिण्टु यादवलगायतकाले समेत जिल्लाको शान्ति सुरक्षाको अवस्था बारे धारणा राखेका थिए ।
तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिध्दी बज्राचार्यको सरुवा भएपछि प्रहरी उपरीक्षक खतिवडा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्दनगरबाट सप्तरी प्रहरी प्रमुखमा शुक्रबार हाजिर भएका हुन् ।