न्यूज टुडे
राजविराज, १८ असोज ।
मधेश प्रदेशका गृह, संचार तथा कानूनमन्त्री राज कुमार लेखीले संघीयताले देश एकढिक्का भएको बताएका छन् । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा शुक्रबार आयोजित श्रीपुर्राज सामुदायिक विकास केन्द्रको २९ औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री लेखीले लोकतान्त्रिक संघीय शासन प्रणालीकै कारण देशमा छोटो समयमै कायपलट भएको दाबी गरे ।
“देशका तमाम शोषित उत्पीडित समुदायको लामो संघर्षले देशमा लोकतान्त्रिक संघीय शासन प्रणाली आएको हो”,मन्त्री लेखीले भने,”यो व्यवस्थाले ६ /७ बर्षको अवधिमा देशमा कायपलट गरेको छ, संघीयताले विखण्डन ल्याएको भनी छिटफुट विरोधका आवाज सूनिन्छ तर यो व्यवस्थाले मुलुकलाई एकढिक्का बनाउन सघाएको छ।”

संघीय व्यवस्थाले देशमा स्वास्थ्य शिक्षा, पुर्वाधार विकासमा छोटो समयमै अकल्पनीय परिवर्तन ल्याएकोले उपलब्धिको रुपमा लिनुपर्ने लेखीको भनाइ थियो । भारतमा संघीय व्यवस्था आएको ५५ बर्षमा गरेको विकास नेपालमा ७ बर्षको अवधिमा भएको लेखीले दावी गरे ।
संघीय प्रणालीका कारण महिला,दलित,मधेसी, मुश्लिम, थारु, आदिवासी जनजाति, खस आर्यसहित उत्पीडित समुदायका ७ हजार भन्दा वढी जनप्रतिनिधि भएकोले देश विकासले गति लिएको बताउँदै उनले संघीयतालाई संस्थागत गर्न तथा थप अधिकार सुनिश्चितताका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
मन्त्री लेखीले केन्द्र सरकारले अहिलेपनि एकात्मक शासन व्यवस्थाको पृष्ठ्पोषण गरिरहेको आरोप लगाए ।
केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई बजेटमा भेदभाव गर्दा अझै पनि अपेक्षित विकास हुन नसकेको टिप्पणी गर्दै उनले ७ प्रदेश र ७ सय ५३ पालिकालाई ७ प्रतिशत र केन्द्र सरकारले ९३ प्रतिशत बजेट राखेर एकात्मक शासन व्यवस्थाको पृष्ठपोषण गरीरहेको आरोप लगाए ।
उनले प्रदेश र स्थानीय सरकारसंग जनताले ठूलो अपेक्षा राखेपनि बजेट अभावको कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको उल्लेख गरे ।
बीस बाइसबर्ष अगाडि कार्यक्रमको दौरानमा दलित अगुवा बलदेव रामसंगै विभेद र भेदभाव विरुद्धको अभियानमा काम गरेको स्मरण गर्दै उनले व्यवस्था परिवर्तनमा श्रीपुर्राजले पुर्याएको योगदानको प्रशंसा गरे ।
सामाजिक तथा आर्थिक रुपान्तरणमा श्रीपुर्राजले पुर्याएको योगदान अविस्मरणीय रहेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री लेखीले महिला,दलित, मधेसी,मुश्लिम, थारु, आदिवासी जनजातिको उत्थान तथा भाषा, संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले श्रीपुर्राज सामुदायिक विकास केन्द्र जिल्लामा मात्र नभई राष्ट्रमै उत्कृष्ट काम गर्ने संस्था भएको भन्दै थप उज्ज्वल भविष्यको शुभकामना दिए।
सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गरिव तथा विपन्न बर्गमा सामाजिक विकास र आर्थिक रुपान्तरणमा अतुलनीय योगदान गरेको बताइन् । सामाजिक परिवर्तनका लागि शिक्षाको अति महत्त्व रहेको भन्दै मेयर चौधरीले अरुलाई दोष दिएर अधिकार नपाइने भएकोले अधिकार प्राप्तिका लागि कर्तव्य समेत निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
उनले समृद्धि र विकासका लागि विपन्न परिवारहरुले बालबालिकालाई शिक्षित बनाउन सक्नु पर्ने आबश्यकता औल्याइन ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशाहाका अध्यक्ष चतुर नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा द फ्रीडम फण्डका सल्लाहकार ब्रहमदेव राम, तत्कालीन कुशाहा गाविसका अध्यक्ष देवानन्द चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, रासस मधेश प्रदेश प्रमुख राजु विश्वकर्मा, राष्ट्रिय दलित नेटवर्कका प्रतिनिधि संजय महरा,नेपाल राम समाजका अध्यक्ष प्रथम लाल राम लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी हरवाचरवा राष्ट्रिय मञ्च सप्तरीका उपाध्यक्ष उमाकान्त सदा, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका पुर्व कर्मचारी प्रधानाध्यापक अशोक कुमार खंग, डाक्नेश्वरी नगरपालिकाका हरवा चरुवा संजालकी निर्मला कुमारी राम, हरवा चरवा संजाल शम्भुनाथ नगरपालिका संयोजक युगेश्वर सदा, रुपनीकी रन्जना सदा, सुरुङ्गा नगर संयोजक मधु सदालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका संचालक समिति सदस्य लाल बहादुर चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सचिब सुनिल कुमार चौधरीले गरे ।
खडक नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खडक नगरपालिकाका मेयर जयप्रकाश चौधरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, गैसस महासंघ सप्तरीका पूर्व अध्यक्ष गैसस अभियन्ता दिलिप कुमार चौधरी, हरवा चरवा राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डललगायत जनप्रतिनिधि, संस्थाका विभिन्न अहोदाका कर्मचारीहरुको उपस्थिति रहेको श्रीपुर्राजका टिम लिडर विनोदानन्द चौधरीले जानकारी दिए ।