• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्राचीन संस्कृति जगेर्नाका लागि अभियान:चौधरी

प्राचीन संस्कृति जगेर्नाका लागि अभियान:चौधरी
न्यूज टुडे
राजविराज, १५ असोज । 
थारु भाषा,संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय अध्यक्ष एवम् साँस्कृतिक अभियन्ता गयानन्द चौधरीले देशका सम्पुर्ण जातजातिको  पहिचान,भाषा, कला, संस्कृति जगेर्नाका लागि काम गरिरहेको बताएका छन् । जितिया महोत्सव २०८१ तयारी समिति शम्भुनाथ नगरपालिकाद्वारा कठौना बजारमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा बोल्दै साँस्कृतिक अभियन्ता अध्यक्ष चौधरीले देशमा विभिन्न जातजाति समुदायको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व राज्यको भएको बताए । 
देशमा एकल भाषा संस्कृतिको प्रभाव तथा बढ्दो आधुनिकीकरणले विभिन्न जाति समुदायको प्राचीन मौलिक भाषा संस्कृति लोप हुने  खतरा रहेको बताउँदै उनले देशमा विभिन्न जातिसमुदाले मनाउने प्राचीन सभ्यताको संस्कृति संरक्षणका लागि देश व्यापी अभियान चलाएको उल्लेख गरे । 
देशको सबै प्रदेश, ७७ वटै जिल्ला, ७ सय ५३ पालिकामा संगठन निर्माण गरी साँस्कृतिक जागरण अभियान संचालन गर्ने उदेश्यले थारु, भाषा संस्कृति संरक्षण नेपाल स्थापना गरि  राज्यबाट अनुमति लिएर अभियान बढाएको जानकारी गराउँदै साँस्कृतिक अभियन्ता चौधरीले सम्बन्धित भूगोलमा बसोबास गरेका जातजातिलाई संगठित गरी ऊनीहरुको भाषा, भेषभुषा संस्कृति संरक्षणका लागि काम गर्ने बताए । 
“सबै जिल्ला तथा स्थानीय तहमा थारुको बसोबास हुँदैन, चौधरीले भने, “खस आर्य, मगर, तामाङ, गुरुङ, राई लिम्बू,मैथिल,  मधेसी, मुश्लिम, दलित  बसोबासको आधारमा उनीहरुकै नेतृत्वमा संगठन निर्माण गरी जागरण अभियान चलाउँछौँ ।” 
उनले एक पुस्ताबाट अर्को पुस्तामा भाषा, संस्कृति हस्तान्तरण नहुँदा प्राचीन मौलिक संस्कृति संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे ।  आधुनिक गीत, डिस्को तथा रिमिक्स गीत संगीतले सामाजिक विकृति ल्याउनुको साथै  पौराणिक सभ्यतामाथि खतरा आएको बताउँदै उनले सबैजाती समुदायको भाषा, कला संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिए ।  
अध्यक्ष चौधरीले संघले प्राचीन भाषा, कला संस्कृति जगेर्ना गर्दै नायक नायिका , गायक, गायिका, कवि, साहित्यकार, पत्रकार, कलाकार उत्पादन गर्ने उदेश्य राखेको हुनाले यसमा राज्य स्तरबाट सहयोग आवश्यक रहेको बताए । 
उनले अभियानमा जनप्रतिनिधि, कलाकार, पत्रकार, सबै जातजाति तथा राज्यका सम्पुर्ण निकायलाई सहयोगका लागि आग्रह गरे । 
थारु भाषा संस्कृति संरक्षण संघ नेपालकी शम्भुनाथ नगरपालिकाकी कोषाध्यक्ष एवम् गायिका आशादेवी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष सीता देवी चौधरी, जिल्ला अध्यक्ष तेज नारायण चौधरी, सप्तकोशी नगर अध्यक्ष सत्यनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरे । 
कार्यक्रम संचालन थारु भाषा संस्कृति संरक्षण संघ नेपालकी जिल्ला कोषाध्यक्ष गौरी कुमारी चौधरीले गरेकी थिइन् । 
शम्भुनाथ नगरपालिकाकी कार्यबाहक नगरप्रमुख अनिता देवी चौधरीसहित विभिन्न वडाका वडा अध्यक्ष तथा विभिन्न शाखाका कर्मचारी उपस्थित कार्यक्रममा संघ आवद्ध चर्चित राष्ट्रिय कलाकारहरुद्वारा थारु भाषाका प्राचीन जितिया गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।