• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरमा विभिन्न संस्था तथा कर्मचारीलाई दिइएको लाखौं पेश्की फछ्र्यौट भएन

अग्नीसाइरमा विभिन्न संस्था तथा कर्मचारीलाई दिइएको लाखौं पेश्की फछ्र्यौट भएन
न्यूज टुडे
राजविराज, १४ असोज । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा विभिन्न संस्था तथा कर्मचारीले  लाखौं पेश्की लिएर फछ्र्यौट नगरेको खुलासा भएको छ ।  गाउँपालिकाले विभिन्न संस्था तथा कर्मचारीलाई वितरण गरेको १२ लाख पेश्की फछ्र्यौट नगरेको पाइएको हो । 
वडा सचिब प्रवीण कुमार यादवलाई वडा नम्बर ४ अन्तर्गत विपद व्यवस्थापनको लागि दिएको ३ लाख, राष्ट्रसेवक बहुमुखी सहकारी संस्थालाई संमपुरक कोषबाट २ लाख गरी ५ लाख रुपैयाँ लिएर फछ्र्यौट नगरेको महालेखा परिक्षक प्रतिबेदन २०८१ मा उल्लेख छ । 
“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ५० मा पेश्की दिइएको रकम तोकिएको म्याद भित्र फछ्र्यौट गर्नु गराउनु पेश्की लिने दिने दुबैथरीको कर्तव्य हुने उल्लेख छ”, महालेखा प्रतिबेदनमा भनिएको छ,” पालिकाले विभिन्न कर्मचारी तथा संस्थालाई दिएको पेश्की आर्थिक बर्षको अन्त्यसम्ममा फछ्र्यौट नभई रु ५ लाख बाँकी रहेको देखिन्छ, महालेखा प्रतिबेदनमा अगाडि भनिएको छ,” सो म्याद नाघेको पेश्की फछ्र्यौट गर्न बाँकी रहेकोले उक्त पेश्की नियम अनुसार फछ्र्यौट गर्नुपर्छ ।”
यसैगरी गाउँपालिकाले यसअघि पनि विभिन्न संस्थालाई दिएको ७ लाख पेश्की असुल गर्न नसकेको महालेखा प्रतिबेदन २०७९/०८० मा उल्लेख छ । 
खेलकुद कार्यक्रम ठाकुर जी मावि र फर्निचर तथा फिक्चर्स शिर्षकमा श्री ठाकुर जी माध्यमिक विद्यालय बकधुवा जण्डोललाई २ लाख ५० हजार र २ लाख गरी कुल ४ लाख ५० हजार,खेलकुद तथा खेलमैदान वडा नम्बर ४ अन्तर्गत शिर्षकमा श्रीआधारभूत विद्यालय बनौली बडगोरियालाई २ लाख ५० हजार दिएको पेश्की म्याद नाघिसक्दा समेत फछ्र्यौट नगरेको महालेखाको प्रतिबेदनमा जनाइएको छ । 
“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५२ मा पेश्की रकमको विवरण तयार गरी म्याद नाघेको र म्याद ननाघेको छुट्टाछुट्टै अभिलेख राखी एकीकृत लागत तयार गर्नुपर्ने व्यवस्था छ, महालेखा प्रतिबेदनमा भनिएको छ,” पालिकाले सुत्र बाहिरको पेश्की बाँकीको विवरण पेश गरेको छैन ।  सुत्रको आधारमा पालिकाले यस बर्ष ३ कार्यक्रमलाई रु ७ लाख पेश्की दिएको छ, प्रतिबेदनमा अगाडि थपिएको छ,”उक्त पेश्की आर्थिक बर्षको अन्तसम्म म्याद ननाघेतापनि सो को अभिलेख व्यवस्थित गरी पेश्की फछ्र्यौट गर्नुपर्दछ।” 
प्रमुख प्रशासकीय अधिकृत अर्विनन्द कुमार चौधरीले पेश्की फछ्र्यौट गराउन कार्यपालिकामा प्रस्ताव लगि चाडै पत्राचार गरी सम्बन्धितबाट  फछ्र्यौट तथा असुल उपर गर्ने बताए ।