• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा नदी तटीय क्ष्रेत्रमा बाढीको उच्च जोखिम

सप्तरीमा नदी तटीय क्ष्रेत्रमा बाढीको उच्च जोखिम
न्यूज टुडे
राजविराज, ११ असोज । 
सप्तरीको रुपनी, बरमझिया उदयपुरको सुन्दरपुर आसपासमा भारी बर्षाको मापन गर्दै नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महशाखाले शुक्रबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन नदी तटीय तथा डुवान क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो । 
शाखाले शुक्रवार ११ बजे बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ।
सार्वजनिक सूची अनुसार असोज ११ गते त्रियूगा, खाडो , महुली, बलान, जिता लगायतका अन्य खोलाहरुमा आकस्मिक बाढी तथा होचो ठाउँमा डुवानको उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ।
“सप्तरीको रुपनी बजार, बरमझिया,उदयपुरको सुन्दरपुर र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षा मापन भएको, थप वर्षा हुने सक्ने सम्भावना रहेको हुँदा सो क्षेत्र भई बहने त्रियुगा,महुली, खाडो खोला लगायत अन्य स-साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचा भू- भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाऔं” जल तथा मौसम विज्ञान विभाग महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी झापाको कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरू समयमा मध्यम जोखिम हुने जनाइएको छ। कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ।
यस्तै नारायणी नदी, पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ। यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छ भने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ।
आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने जनाएको छ।
सूचनामा अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ। असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ।