• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपमा भव्यताकोसाथ मनाइयो जितिया

कञ्चनरुपमा भव्यताकोसाथ मनाइयो जितिया
न्यूज टुडे
राजविराज, ०९ असोज । 
सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार भव्य समारोहका वीच जितिया पर्व मनाइएको छ। कञ्चनरुप नगरपालिकाको सहयोग, थारु महिला नगरसभा कञ्चनरुपको सहकार्य, थारु कल्याण कारिणीसभा (थाकस) कञ्चनरुप नगरसमितिले कार्यक्रम आयोजना गरेको हो ।
थाकस कञ्चनरुप नगरसमितिद्वारा आयोजित कार्यक्रममा मञ्चासीन अतिथिगण । फोटो : न्यूज टुडे
थाकस कञ्चनरुप नगर सभापति उमेश कुमार चौधरीको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्य एवम् उपमेयर मूना कुमारी पोखरेलको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर गुप्ताले नगरभित्रका सम्पुर्ण जाती समुदायले मनाउने चाडपर्वलाई समान रुपले सहयोग गर्दै आएको बताए । उनले जितिया पर्वमा जस्तै अन्य समुदायको चार्डपर्व पनि सहयोग गर्दै आएको जानकारी दिदै यसलाई सधै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा थारु पहिरनमा सजिएका सहभागीहरु । फोटो : न्यूज टुडे
उपप्रमुख पोखरेलले नगरपालिकामा भव्यताको साथ जितिया पर्व आयोजना गरेकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिइन् । उनले चाडपर्वले सामाजिक सद्भाव कायम हुने तथा राष्ट्रिय एकतामा टेवा पुग्ने विश्वास व्यक्त गरिन ।   
थारु कल्याण कारिणी सभा सप्तरीका वरिष्ठ उपसभापति रामप्रसाद चौधरीले जितिया पर्वमा राष्ट्रिय विदा नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले थारु समुदायप्रति राज्यले भेदभाव गरेको भन्दै आक्रोश पोखे । 
कार्यक्रममा कघ्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त कुमार मिश्र, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह, ४ का अध्यक्ष योगेन्द्र पासवान, कञ्चनरुप नगरपालिकाका मेयरका उम्मेदवार माधव चौधरी, थाकस जिल्ला सदस्य एवम् उपमेयरकी प्रत्यासी कल्पना चौधरी, उपमेयरकी प्रत्यासी उम्मेदवार सम्झना राना थारु,थाकस सप्तरीका निवर्तमान सचिब पुरुशोतम चौधरी, आदिवासी जनजाति महासंघ कञ्चनरुप नगरपालिका सचिव खुशीलाल चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
थारु महिलासभाकी नगर सदस्य निर्मला कुमारी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थाकसकी नगर उपसभापति  सुमन कुमारी चौधरीले गरिन भने कार्यक्रमको उदेश्य बारे अधिवक्ता सुकदेव चौधरीले प्रकाश पारे । 
कार्यक्रममा विभिन्न वडाबाट आएका महिला तथा बाल कलाकारहरुले जितिया पर्वको संदेशमुलक गीत तथा नृत्य प्रस्तुत गरे । 
उक्त कार्यक्रममा थाकस सप्तरीका सभापति भुपेन्द्र कुमार चौधरी, कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, विभिन्न शाखा प्रमुख, विभिन्न संस्थासंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।