युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले बाँतर समुदायलाई थारुमा सुचिकृत गर्नेपर्ने प्रस्ताव गरेका छन् । सप्तरीको खडक नगरपालिका ६ कल्याणपुरमा सोमबार आयोजित थारु कल्याण कारिणीसभा सप्तरीको नवौं अधिबेशनबाट नवनिर्वाचित पदाधिकारीलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
नवनिर्वाचित सभापति भुपेन्द्र कुमार चौधरीलाई प्रमाणपत्र प्रदान गर्दै मन्त्री चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले थारु समुदाय देशकै ठुलो चौथो जाति भएपनि राज्यबाट पाउने अबसरबाट सधै बन्चित भएको बताए ।
विभिन्न थर, बसोबास र भूगोलको आधारमा थारु विभाजन भई थारु समुदायको संख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले थारूमा बढ्दै गएको विखण्डनवदी नीतिलाई रोक्दै थारु समुदायको संख्या वृद्धि गर्न बाँतर समुदायलाई थारुमा सुचिकृत गर्न प्रस्ताव गरे ।
सप्थग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
बाँतर र थारू समुदायसंग रहनसहन र कुटमैत्री पराम्परादेखि चलिआएकाले एउटै जाती बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
“थारु समुदायलाई कमजोर पार्न राना, लमपुछ्रे आदिइत्यादीको नाममा विखण्डन ल्याउने प्रयास हुदैछ, संख्या घट्दा झनै राज्यको निकायमा थारुको पहुँच र प्रतिनिधित्व कमजोर उपस्थिति हुने खतरा छ”, मन्त्री चौधरीले भने,”अधिकार सुनिश्चितताका लागि जनसंख्या बढाउने तिर ध्यान केन्द्रीत गरौं, धनुषा, महोत्तरीलगायतको पश्चिमका जिल्लाहरुमा थारु र बाँतर समुदाय विच मागी विवाह नै हुँदै आएको छ, मेरो प्रस्ताव: रहनसहन, कुटमैत्री सबै चल्ने बाँंतर समुदायलाई थारुमा सुचिकृत गरौं ।”
सपथ ग्रहण गर्दै थाकस सप्तरीका नवनिर्वाचित पदाधिकारी । फोटो : न्यूज टुडे
परिवारबाट खुल्ला छोडिदा थारु समुदायको बालबालिकाले राम्रो प्रगति गर्न नसको प्रति चिन्ता व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री चौधरीले अरु जातजातिबाट पाठ सिकेर आफ्ना सन्तानको निगरानी गर्न अभिभावकहरुलाई आग्रह गरे ।
बालबालिकालाई स्वतन्त्र छोड्दा कुलत तथा खराब संगतमा लागेर थारु समुदाय पछाडि पर्दै गएको उनको भनाइ थियो ।
थारु कल्याण कारिणीसभाको गरिमा विस्तारै खस्किदै गएको टिप्पणी गर्दै चौधरीले यसको गौरवमय इतिहासलाई कायम राख्न संस्थालाई राजनीतिबाट अलग राख्न सबैजना सचेत हुनुपर्नेमा जोड दिए । उनले थारु समुदायको प्रमुख चार्ड जितियाको अवसरमा राष्ट्रिय सार्वजनिक विदा दिनुपर्ने जिकिर गर्दै त्यसको लागि निरन्तर पहल गरिरहेको उल्लेख गरे ।
मधेशी, आदिबासी जनजाति , कुनै पार्टी समेत गरी कसैले थारुलाई गन्दैन भन्दै उनले आफ्नो अधिकार लिन स्वयं अगाडि आउन पर्ने हुँदा थारु समुदायलाई चनाखो भएर लाग्न आग्रह गरे ।
सर्वसम्मतबाट समिति चयन भइ आएकाहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री चौधरीले संस्थागत तथा भौतिक विकासमा पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुदमा समेत थारु समुदाय पछाडी परेको बताउँदै उनले खेलकुदमा रुचि राखी अगाडि बढ्न चाहाने युवायुवतीहरुलाई राज्यबाट पाउने अवसरमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
संविधान सभा सदस्य ताराकान्त चौधरीले थारु कल्याण कारिणी सभा पहिलेको तुलनामाभन्दा धेरै निष्क्रिय भएको बताए । यस संस्थालाई क्रियाशील बनाउन राज्य स्तरबाट पहल हुनुपर्नेमा जोड दिदै उनले थारु मन्त्री, जनप्रतिनिधिहरुलाई विशेष सहयोगका लागि आग्रह गरे ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् अधिबेशन प्रतिनिधि विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा निबर्तमान सभापति शिव नारायण चौधरी, पुर्व सभापति एवम् सुरुङ्गा नगरपालिकाका पूर्व नगरप्रमुख मुक्तिनाथ चौधरीले समेत मन्तव्य व्यक्त गरेका थिए ।
थाकस सप्तरीका पुर्व सचिब देव नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत निबर्तमान उपसभापति लक्ष्मी चौधरीले गरिन । कार्यक्रमम मन्त्री चौधरीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त अवसरमा थाकसकी केन्द्रीय सदस्य सावित्री कुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष एवम् फोनिज मधेश प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङ, थाकस केन्द्रीय पार्षद, विभिन्न पालिकाका थारु जनप्रतिनिधि, प्राध्यापक, शिक्षक ,थारु बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो।
गत भदौ ३१ गते सम्पन्न नवौं जिल्ला अधिबेशनले भुपेन्द्र कुमार चौधरीको नेतृत्व १८ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको थियो ।
गठित समितिको उप-सभापतीमा राम प्रसाद चौधरी, दिपेन्द्र चौधरी, चन्द्रकला कुमारी चौधरी, सचिबमा मिलन कुमार लेखी,सह-सचिबमा बिनोद चौधरी र कोषाध्क्षमा देब कुमरी चौधरी चयन भएका थिए ।
यसैगरी समितिको सदस्यहरुमा दिपक प्रसाद चौधरी, तारिणी प्रसाद चौधरी,हर्ख नारायण चौधरी,सुर्य नारायण चौधरी,चन्द्र नारायण चौधरी, अनिल कुमार चौधरी,गुदर लाल चौधरी,तुला कुमारी चौधरी ,कल्पना कुमारी चौधरी,देब कान्त चौधरी,भिखो चौधरी रहेका छन् ।
यसैगरी केन्द्रिय पार्षदहरुमा रामानन्द लेखी, शिव नरायण चौधरी थारु,श्रीनारायण चौधरी,जितेन्द्र चौधरी ,करम चन्द्र चौधरी,पुरुशोतम प्रसाद चौधरी चयन भएका थिए ।