• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बलानविहुलमा मनपर्दी पेश्की वितरण
न्यूज टुडे
राजविराज,०३ असोज । 
सप्तरीको बलानबिहुल गाउँपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई मनपर्दी पेश्की वितरण गरेको पाइएको छ ।  आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली विपरीत गाउँपालिकाले विभिन्न संघसंस्था तथा व्यक्तिलाई लाखौं पेश्की दिएको पाइएको हो । 
गाउँपालिकाले मनपर्दी ढंगले ७५ लाख भन्दाबढी पेश्की वितरण गरेको महालेखा परिक्षक प्रतिबेदन २०८१ मा उल्लेख छ । प्रतिबेदन अनुसार ७४ लाख ५७ हजार ७ सय रुपियाँ विभिन्न व्यक्ति तथा संघसंस्था एवम् निर्माण कम्पनीबाट असुल गर्नु बाँकी रहेको छ । 
गाउँपालिकाले १५ बेडको अस्पताल निर्माणका लागि रौताहा/ श्रेष्ठ एण्ड सँस रेग्मी जेभीलाई ५५ लाख १० हजार, खानेपानी तथा उपभोक्ता समितिलाई ३ लाख, विष्णु मघैयालाई ८० हजार, विल्टु यादवलाई ४ लाख ८० हजार अजय कुमार यादवलाई ७५ हजार पेश्की वितरण गरेको छ । 
यसैगरी पबन कुमार यादवलाई २ लाख ३४ हजार,रामफुलेश्वर यादवलाई ५० हजार, प्रमेश्वर प्रसाद गुप्तालाई १ लाख ५० हजार, माँ दुर्गा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिलाई ५ लाख ८७ हजार ५ सय पेश्की दिएको छ । 
पेश्की बापत वितरण गरिएको उक्त रकम सम्बन्धित व्यक्ति तथा संघसंस्थाले फछ्र्यौट नगरेकोले उनीहरुबाट असुल उपर गर्नुपर्ने महालेखा प्रतिबेदन २०७९/०८० मा भनिएको छ । 
“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५० मा पेश्की दिएको रकम तोकिएको म्याद भित्र फछ्र्यौट गर्नु गराउनु पेश्की लिनेदिने दिबै थरीको कर्तव्य हुने उल्लेख छ”, महालेखा प्रतिबेदनमा भनिएको छ,” पालिकाले पेश्की दिएको रकम आर्थिक बर्षको अन्त्यसम्म फर्स्यौट नभई उक रकम बाँकी रहेको देखिन्छ। सो म्याद नाघेको पेश्की फर्स्यौट गर्न बाँकी रहेकोले उक्त पेश्की नियम अनुसार फर्स्यौट गर्नुपर्ने छ।”
बलानविहुल गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई मनपर्दी भुक्तानी दिने, दोहोरो सुविधा दिने, कागज तथा प्रमाण नै पेश नगरी भुक्तानी दिने, मनपर्दी पेश्की वितरण गर्ने गरेको महालेखा प्रतिबेदन २०८१ मा उल्लेख गरिएको छ ।