• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बहालबलाको मिलोमतोमा करोडौंको जग्गा नामसारी

बहालबलाको मिलोमतोमा करोडौंको जग्गा नामसारी
न्यूज टुडे
राजविराज, २९ भदौ । 
सप्तरी सदरमुकाम राजविराजको मुटुमा रहेको एक जग्गा बहालबलाले नापी अधिकृतसंग साँठगाठ गरी अर्काको नाउँमा नामसारी गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको राजगढ गाउँपालिका २ स्थायी बसोबास भइ  हाल  राजविराज ६ बस्ने विनोद ठाकुर र प्रमानन्द ठाकुरले राजविराजमा शुक्रवार पत्रकार सम्मेलन गर्दै यस्तो घटना सार्वजनिक गरेको हो । 
स्वर्गीय गुणानन्द ठाकुरका भाइ, ठाकुर आनन्दका काका  विवेकानन्द ठाकुरले डेरी उधोग संचालन गर्नका लागि राघोप्रसाद सिंह र निजको छोरा मिलन कुमार सिंहलाई वहालमा दिएको राजविराज ६ स्थित मिलन डेरी उधोग संचालनमा रहेको ब्लोक नम्बर ९२ कित्ता नम्बर १७ रहेको २ कट्ठा १५ धुर जग्गा कृते कागज खडा गरी अर्कै व्यक्तिको नाउँमा नामसारी गरेको पत्रकार सम्मेलनमा ऊनीहरुले आरोप लगाए । 
पत्रकार सम्मेलनमा बोल्दै विनोद ठाकुरले  दाजु विवेकानन्द ठाकुरसंग राघोप्रसाद सिंहले २०६२/०६३ सालमा भाँडा सम्झौता गरी बहालमा लिएको उक्त जग्गा धनीलाई थाहै नदिई हनुमाननगर कंकालीनी नगरपालिका ४ मधवापुर निवासी स्थायी घर भई साविक राजविराज ७ हाल वडा नम्बर ६ बस्ने शैलेन्द्र चन्द्र झा(बुधन झा)को नाउँमा नामसारी गरेको बताए ।  राघो प्रसादका छोरा मिलन कुमार सिंह र  तत्कालीन नापी कार्यालय सप्तरीका प्रमुख  नापी अधिकृत शत्रुधन प्रसाद यादवसंग साँठगाठ गरी फर्जी कागत तयार गरी झाले जग्गा आफ्नो नाउँमा नामसारी गरेको उनको आरोप छ । 
नापी अधिकृत यादवसंग मिलेर झाले २०७८ भदौ ५ गते नापी कार्यालयमा निवेदन दर्ता गरी २०७८ मंसिर २४ गते लालपुर्जा लिएको कागज देखाउँदै ठाकुरले बहालवलाले २०८० बैशाख ९ गतेदेखि भाँडा दिन छोडेपछि मात्र जग्गा बेइमानी भएको थाहा पाएको पत्रकार सम्मेलनमा बताए । 
“सधै नियमित रुपमा भाँडा बुझाउँदै आएका मिलन कुमार सिंहसंग भाँडा माग्न जाँदा, जग्गाधनी शैलेन्द्र चन्द्र (बुधन झा)ले  रोकेको भन्दै जग्गाघर बहाल दिन मानेन” ठाकुरले भने” सिंहले भाँडा पनि दिन्न जग्गापनि खाली गर्दिन भन्दै ठाडो जवाफ फर्कायो ।”
सिंहको व्यवहार ठिक नदेखिएपछि खोजी गर्ने  क्रममा जग्गा अर्कैको नाउँमा सरेको पाइएको ठाकुरले बताए ।
उनले तीन करोडको जग्गा बेइमानी गरेको थाहा पाउनसाथ ६ नम्बर वडा कार्यालयले  साविक राजविराज नगरपालिका ७ हाल वडा ६ बस्ने स्वर्गीय गुणानन्द ठाकुरको नाउँमा रहेको जग्गा जेठो छोरा ठाकुर आनन्दको भनि प्रमाणित पत्र तथा अन्य कागजप्रमाणसहित राजविराज नगरपालिका न्यायीक समितिमा निवेदन गर्दा समेत सुनुवाइ नभएको बताए ।
फर्जी कागजात तयार गरी जग्गा हड्पने कार्यमा संलग्न झा, जग्गा पास गर्न सहयोग गर्ने तत्कालीन नापी प्रमुख यादव विरुद्ध लालपुर्जा बदर, जालसाजी मुद्दा अदालतमा दायर गरेको ठाकुरले जानकारी दिए । 
उनका अनुसार उक्त जग्गा धरौटी, दान तथा रजिष्ट्रेशनसहित कुनैपनि प्रयोजनका लागि योग्य नहुने गरी अदालतबाट रोक्का आदेश भएको छ । 
नयाँ जग्गाधनी झासंग सम्पर्क गर्दा आफू अहिले बाहिर भएकोले पछि कुरा गर्छु भन्दै कुनै प्रतिक्रिया दिन मानेनन् ।