• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सहिदको बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि प्रतिबद्ध छु :  मुख्यमन्त्री सिंह

सहिदको बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि प्रतिबद्ध छु :  मुख्यमन्त्री सिंह
प्रियष्मी शर्मा
भारदह, २३ भदौ ।  
मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले मधेश आन्दोलनका सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा सप्तरीको भारदहमा आइतबार आयोजित सहिद रामकृष्ण राउतको नवौं स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
सहित रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित सहिद रामकृष्ण राउतको नवौं स्मृति दिवस तथा छात्रवृत्ति वितरण समारोहमा मञ्चासीन मुख्यमन्त्री सिंहसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सहिदहरुको बलिदानीले मधेश प्रदेशसहितको संघीयता स्थापना गरिएको र मधेशी जनताको अधिकार सुनिश्चित भएको बताए ।  उनले सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संघीयता संकटमा परेकोले थप अधिकार प्राप्तिको लागि सहिदहरुले देखाएको मार्गदर्शनलाई आत्मसात गर्दै संघर्षको विकल्प नरहेको उल्लेख गरे । 
” सरकार मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै विकसित र समृद्ध प्रदेश निर्माणमा अग्रसर रहेको छ”, मुख्यमन्त्री सिंहले भने,”मधेसमा रहेको व्याप्त गरिब बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै सहिदको रगत र बलिदानीबाट प्राप्त संघीयतासहितको अधिकार रक्षामा लागि सरकार पुर्ण रुपले प्रतिबद्ध छ।”
मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर छ्टपटाउदै सहित भएका रामकृष्ण राउत लगायतका मधेश आन्दोलनका वीर सहिदहरुको स्मरण गर्दै मुख्यमन्त्री सिंहले राज्यको विभेदकारी नीति र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि विरगती प्राप्त सहित परिवारप्रति सरकार अति संबेदनसिल रहेको  स्पष्ट पारे । 
देश र जनताको लागि जीवन समर्पण गर्ने सहिद रामकृष्ण राउतको स्मृतिमा बार्षिक कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्री सिंहले प्रतिष्ठानको विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
सहिद परिवारलाई सीप मुलक तथा रोजगारमा जोड्ने बताउंँदै  उनले  सहिदको स्मरणका  लागि भारदह अस्पतालको नाम सहिद रामकृष्ण राउत , राजिव राउत अस्पताल नामाङ्करण गर्ने  तथा स्मारक निर्माणका लागि सहयोग  गर्ने प्रतिबद्धता व्यक्त गरे । 
प्रतिष्ठानका अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा आयोजित कार्यक्रम हनुमाननगर कंकालीनी नगरपालिकाका मेयर विरेन्द्र माझी, जनमत पार्टीका नेता थानेश्वर प्रसाद साह,वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र मण्डल, लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन मण्डल,  पुर्व वडा अध्यक्ष भिमराज मण्डल, पुर्व गाविस अध्यक्ष पबन कुमार मण्डल, कंकालीनी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मण मण्डल, गजेन्द्र माझी, जयसुन्दर खिडहरी यादवलगायतकाले मन्तव्य व्यक्त गर्दै सहिदको सम्मानमा स्मारक निर्माणमा जोड दिए ।  
पत्रकार जितेन्द्र कुमार झा जितुद्वारा संचालित कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष धर्मपाल राउतले गरे । 
तेश्रो मधेस आन्दोलनको क्रममा भारदह चौकमा प्रहरीको गोली लागेर २०७२ भदौ २३ गते सहिद राउतको निधन भएको थियो।