• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चाँदनीचौकबाट चोरीको आरोपमा दास पक्राउ

चाँदनीचौकबाट चोरीको आरोपमा दास पक्राउ
न्यूज टुडे
राजविराज, २२ भदौ । 
सप्तरीको अग्नीसाईर कृष्णावारन गाउँपालिका २ चाँदनी चोकबाट शनिबार चोरीको आरोपमा एक जना पक्राउ परेको छ । रुपनी गाउँपालिका ६ विरेन्द्र बजारकी रिता दासको छोरा अन्दाजी बर्ष १७ / १८ बर्षको प्रकाश दास चोरी गर्दागर्दै रंगेहात पक्राउ परेको हो । 
चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका दास । फोटो : न्यूज टुडे
चाँदनीचौकका ललित नारायण साहको घरको ताल्चा फुटाउंँदै गर्दा दासलाई विहान साढे पाँच बजे पक्राउ गरेको स्थानीय खड्ग बहादुर तामाङले बताए । पक्राउ परेका उनलाई प्रहरी बोलाएर जिम्मा लगाएको तामाङले जानकारी दिए ।  उनको साथबाट गत मंगलबार चोरी भएको घरबाहलवाला संगिता लिम्बूको मुक्तिनाथ बैक र एभरेष्ट बैंकको एटीएम कार्ड समेत फेला परेको प्रहरीले जनाएको छ ।  
पक्राउ परेका दासलाई इलाका प्रहरी कार्यालय महुलीको  नियन्त्रणमा राखी आबश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
गत मंगलबार साहको घरको पाँचवटा कोठाको ताला फुटाएर  घरभित्र भएका सरसामान चोरी भएको थियो । घरमा कोही नभएको मौका पारेर ग्यास सिलिन्डर, गैती, हथौड़ा, बेल्चा,  सावेल, नगद खाद्यान्न,भाँडाकुँडा लगायतको सामान चोरी भएको प्रहरीले बताएका छन् ।
घरबाहालमा बस्दै आएकी लिम्बू दमक स्थित घरमा इमर्जेन्सी ( आकस्मिक काम )परेपछि हतारमा एकहप्ता पहिले घर गएकी थिइन् ।  
तामाङ अनुसार घरमा कोही नभएको मौका पारेर भाडावालाको धेरैजसो सामान चोरी भएको थियो ।  साह दम्पती कान्छो छोरा भारतको ऋषीकेशमा अध्यनरत रहेकाले विगत ३ बर्षदेखि उतै बस्दै आएका छन् । जेठो छोरो टियूको प्राध्यापक भएकोले बुटवलमा बस्ने गरेकाले घर खाली थिए । 
घरको एक कोठामा भाडावाल संगिता लिम्बू बस्दै आएपनि उनी समेत चोरी हुने दिन घरमा थिइनन् । उनको कोठाको समेत ताला फुटाएर, पर्ससहित नगद एटीएम,  खाद्यान्न, सिलिन्डरसहितका सरसामान चोरी भएको तामाङले बताए ।
लामो समय बहिर बस्नुपर्ने भएपछि साहले घरको रेखदेखको जिम्मा तामाङलाई दिएका थिए ।  बुधबार बिहान घरको मुलढोका खुल्लै देखेर हेर्न जाँदा चोरी भएको  तामाङले थाहा पाएका थिए ।  घरभित्र पसेर हेर्दा पाँंचवटै ढोकाको साँचो फोरेर चोर भित्र पसी सामानहरु  जताततै छरिएको अबस्थामा पाइएको उनले बताए । 
तामाङले चोरी भएको खबर प्रहरीलाई दिएपछि घटना स्थलमा प्रहरी टोली खटी आवश्यक अनुसन्धान गरेका थिए भने संलग्नहरुको खोजी जारी राखेका थिए ।
सप्तरीमा विद्यालय, मठमन्दिर, गुम्बासहितका सार्वजनिक स्थल तथा घरगाउँमा सवारी साधन, पशुचौपाया चोरीको घटना वृद्धि भएपछि स्थानीय त्रसित भएका छन् ।