• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा प्रधानमन्त्री रोजगारको ५० लाखबढी फ्रीज , लाभग्राहीको भुक्तानी अन्योलमा

रुपनीमा प्रधानमन्त्री रोजगारको ५० लाखबढी फ्रीज , लाभग्राहीको भुक्तानी अन्योलमा
न्यूज टुडे
राजविराज, १८ भदौ । 
सप्तरीको रुपनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रीज हुँदा लाभग्राहीहरुको भुक्तानी अन्योलमा परेको छ । गाउँपालिकाको ढिलासुस्ती र बैंकको लापरबाहीले आव २०८०/०८१ को ५० लाख ६१ हजार ४ सय ३६ रुपैयाँ बजेट फ्रीज भएको हो । 
गाउँपालिकाको ढिलासुस्तीले तथा बैंकको लापरबाहीले चेक जम्मा नभई बजेट फ्रीज हुँदा सयौं सेवाग्राहीहरु मर्कामा परेका छन् । बजेट फ्रीज भएपछि ३ सय ७५जना विपन्न, दलित, महिला मजदुरले पाउंँने रकम अन्योलमा परेको हो । 
बजेट फ्रीज बारे बैंक र गाउँपालिकाले एकअर्कामाथि दोषारोपण गर्दै पन्छिनु खोजेका छन् । बैंकले चेक जम्मा नगर्दा बजेट फ्रीज भएको गाउँपालिकाको आरोप छ भने गाउँपालिकाले अन्तिम समयमा ब्लक भएको चेक पठाउँदा चेक बाउन्स भएको बैंकको भनाइ छ । 
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बैंकले चेक ब्लोक भएको कुरा समयमा जानकारी नदिंदा बजेट फ्रीज भएको बताए । 
२०८० असार २४ गते चेक काटिएको र केही प्राविधिक कारण  लुम्बिनी विकास बैंक लिमिटेड रुपनी शाखामा २०८१ साउन ०४ गते बुझाउँदा साउन ९ गते चेक फर्काइ दिएको अध्यक्ष यादवले बताए । 
“हामीले चेक समयमै बैंकमा बुझाएका थियौं, उनले भने, “तर बैंकले चेक जम्मा नगर्दा बजेट फ्रीज भयो”
लुम्बिनी विकास बैक रुपनी शाखाका म्यानेजर मान बहादुर चौधरीले चेक अन्तिम समयमा बुझाएकाले क्लिरेनिङ्ग गर्दा चेक बाउन्स भएको बताए ।
“साउन महिनाको ४ गते कार्यालय समय सकिने बेलामा चेक जम्मा गर्‍यो तर त्यो दिन शुक्रबार परेकोले चेक क्लिरेनिङ्ग गर्न पाइएन,” म्यानेजर चौधरीले भने, “५ गते शनिबार नै पर्‍यो ६ गते चेक क्लिरेनिङ्ग गर्यौ तर साँझमा मात्र बाउन्सको म्यासेज आयो,  अन्तिम दिन साउन ७ गते मेसिन खराव हुँदा चेक जम्मा गर्न सकिएन।” 
साउन ७ गते आफू फिल्डमा गएकोले चेक ब्ल्क छ भने कुराको जानकारी गाउँपालिकालाई गराउन नसकेको स्वीकार गर्दै उनले ८ गते गाउँपालिकालाई मौखिक तथा ९ गते लिखित जानकारी गराइएको बताए । 
गाउँपालिकाले अतिमहत्वपुर्ण चेक भएको बारे जानकारी नदिएकोले चेक प्राथमिकतामा नपरेको उनको भनाइ छ । उनले चेक ग्लोबल आइएमई बैंकको भएकोले सम्बन्धित बैंकले चेक अनब्लक नगरेका कारण चेक बाउन्स भएको बताए । 
ग्लोबल आइएमई बैंकक म्यानेजर बसन्त चौधरीले चेक जम्मा नहुँनुमा आफ्नो बैंकको कुनै कमजोरी नभएको जिकिर गरे ।आव २०८१/०८२ का लागि उक्त चेक बैकमा अन ब्लक गाराउन गाउँपालिकाले पठाएपनि सम्बन्धित पक्षहरुबाट ब्लक फुकुवा गर्न कसैले चासो नदेखाएपछि चेक ब्लकमै कायम रहेको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक राजेश कुमार यादवले लेखापाल रामचन्द्र पैकराले चेक ढिलो उपलब्ध गराउंँदा बैंकले जम्मा नगरेको बताए । उनका अनुसार वडा नम्बर १ का ४० जना, २ का ४४ जना, वडा नम्बर ३ का ५१ जना, वडा नम्बर ४ मा १३ जना, वडा नम्बर ५ का २ सय १२ जना र वडा नम्बर ६ का १५ जना गरी ३ सय ७५ जनालाई भुक्तानी दिन बाँकी छ ।  करकट्टी सहित ५० लाख १० हजार ८ सय २१ रुपैयाँको चेक बैंकमा बुझाउंदा  समयमा जम्मा नगरी फ्रीज हुँदा लाभग्राहीको भुक्तानी हुन बाँकी रहेको उनले जानकारी दिए । 
प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादवले  चेक असार २४ गते नै काटिएको भएपनि लाभग्राहीहरुको बैंकखाता तथा केही प्रक्रियागत पाटो नमिल्दा चेक रोजगार संयोजकलाई  हस्तान्तरण गर्न ढिलो भएको बताए । 
रुपनी गाउँपालिकाका अध्यक्ष यादवले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जानकारी गराइ सकिएको तथा चालू आव २०८१/०८२ थप  सुदभरनासहित पठाउने भनिएकोले  गाउँ परिषदबाट पास गरी आन्तरिक श्रोतबाट लाभग्राहीहरुको भुक्तानी दिने बताए ।