न्यूज टुडे
राजविराज, १७ भदौ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना दोश्रो कलष्टर स्तरीय आयोजना सम्बन्धि एकदिवसीय अभिमूखीकरण गोष्ठी राजविराजमा सोमबार सम्पन्न भएको छ । विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोग तथा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, कलष्टर इकाई राजविराजले अभिमूखिकरण गोष्ठी आयोजना गरेको हो ।
आयोजना कलष्टर ईकाइ सप्तरी ,राजविराजका प्रमुख राम सोगारथ साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्य एक कार्यक्रमको बीच गोष्ठी सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले आयोजनाको लक्ष प्राप्तिका लागि कार्यक्रमलाई परिणाममुखी र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कार्यक्रमबाट लक्षित बर्ग अधिक लाभान्वित हुने उदेश्यका साथ संचालन गर्नुपर्ने बताउंँदै उनले योजनालाई उपलब्धिमुलक बनाउन जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति सिरहा प्रमुख दिनेश महतोले खाद्य तथा पोषण सुरक्षा सुधार योजनाले सामाजिक तथा आर्थिक रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सप्तरी र सिराहा जिल्लालाई छनोट गरी कार्यक्रम संचालन गरेको खुशी व्यक्त गर्दै उनले लाभग्राही छनौटमा जाँदा कुनै आग्रह पुर्वाग्रहको भावना नराखी तोकिएको मापदण्डको आधारमा गर्नुपर्नेमा जोड दिए । उनले योजनाको कार्यक्षेत्र सानो भएको टिप्पणी गर्दै फराकिलो बनाउनु पर्ने आबश्यकता औल्याए ।
जिसस सिरहाका उपप्रमुख दिलिप लामाले कार्यक्रममा पोषण युक्त कृषि बाली लगाउन तथा पशुजन्य उत्पादनमा लाभग्राही प्रोत्साहन गर्न आग्रह गरे ।
राजविराज कलष्टर प्रमुख साहले सप्तरीको महादेवा र छिन्न्मस्ता तथा सिरहाको लक्ष्मीपुर पतारी र नवराजपुर गाउँपालिकामा कार्यक्रम संचालन गरेको जानकारी दिंदै सरोकारवालाहरुको साथ सहयोग र सल्लाह सुझाव लिएर मात्र अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कृष अधिकृत विजय कुमार मण्डलले कृषि जलबायू आनुकुलनमा सुधार ल्याई कृषि उत्पादकत्वमा वृद्धि तथा आयोजना क्षेत्रमा साना कृषक समुदायको पोषण अवस्थामा सुधार ल्याउने लक्षको साथ योजना संचालनमा ल्याएको बताए ।
कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर दनुवार, नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव, स्वास्थ्य इकाई कार्यालय सप्तरीका प्रमुख जागेश्वर खड्गा, सिरहा प्रमुख दुनियालाल यादव लगायतकाले कार्यक्रम सफलताको लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजनाको लक्ष, उदेश्य र योजना बारे जानकारी दिने उदेश्यले आयोजित गोष्ठीमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना कुमारी यादव, सप्तरी र सिरहा जिल्लाका कृषी, पशु र स्वास्थ्य कार्यालयका प्रमुख, कार्यक्रम लागू गरिएका गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, स्वास्थ्य,पशु तथा कृषि शाखा प्रमुख, सिरहा,सप्तरी कलष्टर कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन पशु विज्ञ अधिकृत डा. विनय विक्रम रत्नाले गरेका थिए ।
गोष्ठीमा आयोजनाको परिचयात्मक प्रस्तुतीकरण, चालू आवको कार्यक्रम समेत सार्वजनिक गरीएको थियो ।
कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षामा सहयोग गर्ने, जलबायू तथा पोषणमैत्री कृषि प्रविधिको अनुसरण र प्रसार गर्ने, सना किसानहरुको आयअर्जन र विविधीकरण प्रवर्द्धन गरी बजारमा पहुँच पुर्याउने, सुनौलो हजार दिनका आमाहरू तथा ६ महिनादेखि २४ महिनासम्मका बच्चाहरुको पोषण स्थितमा सुधार ल्याउने, कृषकहरुको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समुह तथा सहकारीहरुको संस्थागत विकास तथा सवलिकरण गर्ने आयोजनाको उदेश्य रहेको डा. रत्नाले जानकारी दिए ।