न्यूज टुडे
राजविराज, १६ भदौ ।
गोली हानेर मारेको पोस्टमार्टमविना नै गाडिएको बँदेल चार दिनपछि खाल्टोबाट निकालिएको छ। पोस्टमार्टमविना नै गाडिएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा गाडिएको स्थानबाट बँदेल निकालिएको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ कोशी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडिआइजी ज्ञानविक्रम शाह, बहालवाला प्रहरी नायव निरीक्षक सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिन हतारहतारमा बँदेल गाडिएको भनि विभिन्न संचार माध्यम समाचार आएपछि गाडिएको बँदल निकालिएको स्थानीयको कथन छ ।
गत बिहीबार साँझ सबडिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार बिहान खाल्टोबाट निकालिएको सप्तरीका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए।
बँदेलको सिकार गरी ट्रयाक्टरमा लोड गरिएको अवस्थामा प्रहरीले जफत गरेको थियो। कोे.२त ६९ नम्बरको ट्रयाक्टर र प्र ३–०१– ०२२ च ६८५५ नम्बरको स्कार्पिओ बँदेल ओसारपसारमा प्रयोग भएको थियो।
प्रहरीले घटनास्थलबाट २२ क्यालिबरको एउटा राइफल, दुइटा म्यागजिन, १५ राउण्ड गोली, तीनवटा बाइनाकुलर, एक ट्राइपोर्ट, एक–एक थान फलामको हथौडा र खुर्पा पनि बरामद गरेको थियो। पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना ऐन, २०१९ अनुसार पनि मुद्दा चल्ने हुन्छ। तर, प्रहरीले अनुसन्धानको क्रममा रहेको भन्दै थप बताएको छैन।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– २ घर भएका पूर्वडिआइजी ज्ञानविक्रम शाह, विराटनगर महानगरपालिका– ३ घर भएका नेपाल प्रहरीका बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपाने र हनुमाननगर कंकालिनी नगरपालिका– ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, इटहरी– २ का प्रदीप लिम्बू, राजविराज नगरपालिका– ७ का रविन दास, तिरहुत– २ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी– २ का जनार्दन राउत, वडा नम्बर ५ का ओमशंकर प्रसैला, वडा नम्बर १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादव छन्।
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालको निर्देशनमा सिकारीहरूले मारेको बँदेल बेवारिसे भन्दै सबडिभिजन वन कार्यालयमा बुझाई पक्राउ गरिएका पूर्वडिआइजी शाहसमेत १० जनालाई गत बिहीबार नै छोडिएको जनाइएको छ ।