• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौधरीको घरमा पुनः ताला
न्यूज टुडे
राजविराज, १५भदौ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनाका सुरतलाल चौधरीको परिवार  पुन: घरबाट निकालिएका छन् । डाक लिलाम साकार गर्ने शम्भुनाथ नगरपालिका ८ बैरयाहीका शिवचरण चौधरीको नेतृत्वमा आएका ३०/ ३५ जनाको समुहले शनिबार चौधरी परिवारलाई घरबाट निकालेर घरमा ताला लगाएका हुन् ।
बैंकले लिलामी गरेको घरको डाक सकार गर्ने  शिव चरणले चौधरी परिवारको घरमा ताला लगाएपछि ५ जनाको परिवार घरबाहिरै बस्न बाध्य भएका हुन् । घरमा ताला लागेपछि भोकभोकै बहिरै बसेर रात काटेको चौधरीले बताए । 
पाँचजनाको परिवार रहेकोमा नाती अपाङ्ग भएकोले उनलाई सडकमा राख्न अति नै समस्या भएको चौधरीले बताए ।
घरमा लगाएको ताला खोली बस्ने बाताबरण मिलाईदिन प्रहरी, स्थानीय जनप्रतिनिधिहरुलाई पटकपटक फोन तथा भेटेर समेत आग्रह गर्दा कसैले सुनुवाइ नगरेको चौधरीले दुखेसो पोखे । 
डेढ करोडको सम्पत्ति कृषि विकास बैंकले १५ लाखमा निलाम गरेका घरमा ७८ बर्षिय चौधरी, उनका श्रीमती ७६ बर्षिय सुमित्रा देवी चौधरी, छोरा बुहारी र १८ बर्षका शारीरिक रुपले अशक्त १८ बर्षिय नाती कोशराज चौधरी गरी पाँचजनाको संख्यामा बस्दै आएका छन्  । 
विहान १० बजे डाक साकार गर्ने चौधरी नेतृत्वमा आएका समूहले घरभित्र पसेर भाँडाकुँडा, फर्निचर,ओढ्ने ओछ्याउने लुगाफाटोसहितका सरसामान लिकालेर सडकमा मिल्काएर घरमा ताला  लगाएको पीडित परिवारले बताएका छन् ।  उनीहरु दिनभरी घरको पहरा बसिरहेको  उनले जानकारी गराए ।
घटना बारे प्रहरीलाई तत्कालै जानकारी गराएपनि सुनुवाइ नभएको पीडित चौधरीले बताए । घरभित्र पसेर लुटपाट गर्न साथ प्रहरीलाई जानकारी गराउंँदा पनि प्रहरीले चासो नदिएको पीडितले गुनासो गरे । 
बैक र डाक लिलामी गर्ने चौधरीको प्रभावमा परी प्रहरीले आफ्नो कुरा नसुनेको उनले आरोप लगाए ।  घरमा ताला लगाएपछि सबैपरिवार घर बाहिरै भोकभोकै बस्नु परेको पीडित सुरत लाल चौधरीले दुखेसो पोखे । 
१० दिन अगाडि भदौ ४ गते यसरी नै घरमा ताला लगाएपछि २४ घण्टापछी प्रहरीले ताला फुटाएर घर प्रवेश गराएको उनले जानकारी दिए । 
अदालतको अन्तरकालीन आदेश विपरीत शिव चरण नेतृत्वको समुहले आफ्नो परिवारमाथि आक्रमण गरेको पीडितका छोरा मदनेश चौधरीले बताए । विना सूचना घर निकाला गर्दा आफ्नो बृद्वबृद्वा बुवाआमा र अपांग नाबालक छोरा विचल्लीमा परेको उनले दुखेसो पोखे । 
सप्तरी जिल्ला अदालत राजविराजमा फैसला वदर लिलाम वदर दाखा दर्ता वदर दर्ता कायम मुद्दा सुरत लाल चौधरीको छोरा मदनेश कुमार चौधरीले दायर गरेपछि उनको पक्षमा अन्तरकालीन आदेश दिदै भदौ २० गते दुबैपक्षलाई छ्लफलका लागि हाजिर हुन आदेश गरिएको थियो । 
यस अघि भदौ ६ गते पनि अदालतले दुबैपक्षलाई छलफलका लागि बोलाएका थिए ।  अदालतको  आदेशको अवज्ञा गर्दै दुई दिन अगाडि  शिव चरणको  नेतृत्वका समुहले चौधरी घरमा ताला लगएर घर निकाला गरेका थिए । अर्को छलफलको पेशी भदौ २० गते तोकीएपनि पुरानै शैलीमा शिवचरणले ५ दिन अगाडि चौधरी परिवारलाई घर बाट निकालेर घरमा ताला लगाएका छन् । 
न्यायाधीश उदवीर नेपालीले २०८१ साउन २४ गते गरेको आदेश प्रमाण मिसिल साथै राखेको नदेखिएकाले उक्त मिसिलहरु साथै राखी निवेदन छ्लफलको लागि मिति २०८१/०५/०६  गतेको पेशी तोकी सो मितिसम्म पुर्व आदेशानुसार जग्गा यथास्थितिमा राख्नु भनि विपक्षीलाई जानकारी दिनु भनि दिएको आदेशलाई चुनौती दिदै विपक्षीले लुटपाट शैलीमा घरको सामान मिल्काएर घरमा ताला लगाई तथानाम गालीगलौज गरेको पीडित परिवारको आरोप छ । 
पीडित परिवारका अनुसार  भदौ ६ गतेको छलफलपछि  अर्को छलफलका लागि अदालतले पुन: भदौ २० गतेका लागि पेशी तोकेका छन् ।
बैक र लिलाम समितिसंगको मिलोमतोमा आफ्नो करोडौं मुल्यको घरजग्गा हत्याउने नियतले  बैक कर्मचारीको आफ्ना मान्छे शिवचरणले सूचनाको म्याद नपुदै डाक लिलाम साकार गरेको घरजग्गा धनी सुरतलाल चौधरीको  आरोप रहेको छ ।  २०७१ असार मसान्तसम्मको सूचनाको म्याद हुदाहुदै शिव चरणले  असार २० गते डाक लिलाम सकार गरेको उनले बताए ।  आफू सूचनाको म्याद भित्र असार २६ गते ॠणको साँवा र लाग्ने व्याजसहित कृषि विकास बैक कल्याणपुर शाखामा उपस्थिति हुँदा तपाईको नाममा कुनै ॠण नभएको भनि त्यसै फर्काइएको उनले जानकारी दिए । 
उनले आफ्नो सम्पत्ति बेइमानी भएको थाहा पाएपछि सप्तरी जिल्ला अदालत राजविराजमा ॠणको साँवा व्याजसहित धरौटी राखी लिलाम समितिको फैसला बदर, दाखा वदर र पुरानो दर्ता कायम मुद्दा विपक्षीहरुको विरुद्ध दायर गरेको बताए । 
उनका अनुसार दस बर्षदेखी जिल्ला, पुनरावेदन ( उच्च) र सर्वोच्च अदालतमा बैंक, लिलाम समिति र शिव चरण उपर मुद्दा दायर गरेपनि तीनै तहका अदालतबाट विपक्षमा फैसला आएको छ । अदालतले विपक्षमा फैसला गरेपनि घरजग्गा खाली गर्न आदेश भने नदिएको  उनले बताए । अदालतको आदेश विपरित विपक्षीले लुटेरा शैलीमा आफुहरुलाई घर निकाला गरेको भन्दै उनले  घरमा शान्तिपुर्वक बस्नु पाउनु पर्ने जिकिर गरे । 
तीन तहको अदालतले विपक्षमा फैसाला गरेपछि सुरतलालको छोरा मदनेशले आफू अंसयारी भएको भन्दै पुन: विपक्षीहरु उपर फैसला बदर, लिलाम बदर दखा दर्ता वदर दर्ता कायम मुद्दा दायर गरेका थिए । उनको माग दाबीको सुनुवाइ गर्दै सप्तरी जिल्ला अदालत राजविराजले भदौ ६ गते विपक्षीहरुलाई छ्लफलमा बोलाएका थिए ।  छलफलको दुईदिन समय हुदाहुदै विपक्षीले ठूलो समुह लिएर भदौ ०४ गते चौधरी परिवारको घर खाली गराई घरमा ताला लगाएका थिए। 
चौधरीले कठौना बजारमा १६ धुर  क्षेत्रफल जग्गामा १५ कोठाको २ तले पक्की भवन भएको घर कृषी विकास बैक कल्याणपुर शाखामा धितो वन्धकी राखी २०६१ सालमा ४ लाख ५० हजार ॠण उठाएका थिए ।  
यता शिव चरण चौधरीले आफ्नो नेतृत्वमा गएको टोलीले घर खाली गरी ताला लगाएको स्वीकार गरे ।  उनले अरु कसैको घरमा नभई आफ्नो घरमा  ताला लगाएको तर्क गरे ।  प्रहरीले सुरक्षा नदिएको बारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।