न्यूज टुडे
राजविराज, १२ भदौ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा जंगली बाँदरबाट किसानहरुले निकै सास्ती खेप्नुपरेका छन्। बाँदरको समुहले मकै, तरकारीसहित बाली खाएर सखाप पारेपछि स्थानीय किसानहरु सास्ती खेप्न बाध्य भएका हुन् ।
हुलका हुल आएका बाँदरले फलफूल, तरकारी, गहुँ मकै, कोदो सहित बालिनाली नष्ट गर्दा मिहिनेत र लगानी त्यसै खेर गएको स्थानीय किसानहरु बताउँछन् । बाँदरले बालिनाली सखाप पारेको जानकारी गराउंँदै उनीहरूले ढुक्कसंग खेतीपाती लगाएर खान नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अग्नीसाईर कृष्णसवरन गाउँपालिका २ लपका टोलका रघुबंश चौधरीले बाँदर आतंकबाट हैरान भएको बताए । उनले विहानदेखी सबै काम छोडेर दिनभरी बाँदरको गोठालो गर्नु परेको दुखेसो सुनाए ।
उनले बाँदरले घरभित्र पसेर मकै, गहुँ, दाल, बजारबाट ल्याएको तरकारी, भातको भाँडाकुँडा तथा कुनैपनि मिठोमसिनो खानेकुरा सबै लिएर जाँने गरेको बताए । बाँदर झपाउने अनेकौ उपाय लगाउँदा समेत असफल भएको उनले जानकारी दिए ।
वडा नम्बर २ चौफालका किसन भुपेन्द्र राईले एक विघामा लगाएको मकैखेती जंगली बाँदेल र बाँदरले खाएर सखाप पारेको बताए । दिनभरी खेतमा कुरुवा बस्दा पनि सौचालय गएको मौका छोपेर बाँदरको हुल पसेर ५-१० मिनेटमै मकैको बोट मात्र राखेर घोघो लिएर जंगल पसेको राईले जानकारी दिए ।
उनले हजार पन्द्र सय बाँदरको हुल एकैपटक खेतमा पसेर भित्र्याउन तयार भएको मकै नष्ट गरेको दुखेसो पोखे । बाँदरले मकैको बीउ नै मासी दिएको बताउँदै उनले यस्तै अबस्था रहने हो भने बालीनाली लगाएर गरी खाने बाताबरण नभएको भन्दै चिन्ता व्यक्त गरे ।
सोही वडा स्थित इटहर्वाका श्याम कुमार चौधरीले बाँदरको डरले घर खेतबारी छोडेर कतै हिड्न पनि समस्या भएको बताए ।
“गाउँभरका सबैजना विहानदेखी दिनभरी नै बाँदर गोठालो गर्नुपर्ने दिनचर्या नै बनेको छ, आँखा झिमिक्क पार्ने अबस्थामा छैन,” उनले भने,”बाँदरलाई एकैछिन धपाउन छोड्यो की बालीनै सखाप पर्छ, बाँदरको डरले घरखेत छोडेर एकैछिन पनि बाहिर जाँन समस्या छ।”
दुई हजार – पचिस सयको संख्यामा रहेको बाँदर रातभरी बाँस र आँप बगैचामा बस्ने र विहानै घामको झुल्को उदाउँनु नपाउंँदै आहाराको खोजीमा किसानले लगाएको बालिनाली र घरभित्रका खानेबस्तु चहार्दै दुख दिने गरेको उनले बताए ।
सबै गाउँ नै मिलेर बाँदरलाई जंगल पुर्याउंँदा समेत मान्छे भन्दा छिटो बाँदर नै घर आउने गरेको सुनाउँदै उनले किसानहरूलाई अतिनै दुख दिएकोले बाँदर नियन्त्रणमा स्थानीय सरकार तथा सरकारी स्तरबाटै पहल हुनुपर्नेमा जोड दिए ।
स्थानीय राजनीतिककर्मी मिलन चौधरीले बाँदर, हात्ती, बँदेल, निलगाई जस्ता जंगली जनावरको आक्रमणबाट ठुलो जनधनको क्षति हुँदा समेत स्थानीय सरकार मुखदर्शक भएर बसेको भन्दै आक्रोश पोखे । उनले विगत लामो समयदेखि किसानहरूले जंगली जनावरको मार खेपिरहँदा समेत यसको नियन्त्रणमा स्थानीय सरकारले कुनैपनि योजना नल्याउनु अति दु:खद भएको बताए ।
स्थानीय सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्दै उनले बषौदेखिको बाँदरसहितको जंगली जनावरको आतंकबाट आम गाउँपालिकाबासीलाई मुक्तिदिनका लागि आबश्यक नीति तथा योजना बनाउन सरोकारवालाहरुलाई आग्रह गरे ।
यस क्ष्रेत्रमा जंगली हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुको साथै भौतिक संरचनामा ठुलो क्षति गरेका छन् भने बाँदर , बँदेल, निलगाई लगायतका जंगली जनावरका कारण कतिपय परिवार सुरक्षित स्थानको खोजीमा बसाईसरी विस्थापित भएका छन् ।