• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अध्यक्ष यादवको आर्थिक अनुशासन भाषणमा मात्र सिमित 

अध्यक्ष यादवको आर्थिक अनुशासन भाषणमा मात्र सिमित 
न्यूज टुडे
राजविराज, ११ भदौ । 
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले विभिन्न सार्वजनिक कार्यक्रममा आर्थिक पारदर्शिता बारे बोलेको कुरा झुठो ठहरीएको छ । अध्यक्ष यादवले सार्वजनिक रुपमा आर्थिक अनियमितता भएको ठहर भए कारबाही भोग्न तयार भएको भनि दिएको वक्तव्य विपरीत अनेकौं आर्थिक अनुशासन उलंघन गरेको खुलासा भएको हो । 
महालेखा परिक्षकको प्रतिबेदन २०७९/०८० अनुसार अध्यक्ष यादवले लाखौं दोहोरो सुविधा लिएको, कानून विपरीत स्वकीय सचिब राखी पालिकालाई आर्थिक भार थपेको,  कागजात र प्रमाणविनै पूर्वाधार विकासको कार्यमा भुक्तानी दिने गरेको, स्थानीय तह संचालन ऎनलाई चुनौती दिदै आफू निकट व्यक्तिको नाममा सोझै लाखौं रकम निकासा गरी वित्तीय अनुशासन उलंघन गरीको उल्लेख छ । 
महालेखाको प्रतिबेदनलाई नै आधार मान्ने हो भने गाउँपालिका अध्यक्ष यादव आफै र गाउँपालिकाले गरेको वेरितको खर्च विवरण हेर्दा अध्यक्ष यादवले सार्वजनिक रुपमा बोलेको कुरा आर्थिक अनियमिततालाई ढाकछोप गर्नलाई मात्र रहेको स्पष्ट भएको मान्न सकिन्छ । 
आफू आर्थिक रुपमा पारदर्शी रहेको र अरुलाई पनि अनियमितता गर्न नदिएको भनि अध्यक्ष यादवले बोलेको कुरालाई महालेखाको प्रतिबेदनले झुठो सावित गरिदिएको स्थानीय नागरिक समजका अगुवाहरु बताउछन् । 
“अध्यक्ष यादवले मञ्च पिच्छे आफू पनि भ्रष्टाचार नगर्ने अरुलाई पनि गर्न नदिने भन्ने कुरा आफुले गरेको आर्थिक अनियमितको ढाकछोप गर्ने प्रपञ्च मात्र हो,” एक नागरिक अगुवाले भने,”मञ्च पिच्छे वित्तीय अनुशासनको कुरा उठाउँछन् तर व्यवहारमा भने  पटक्कै छैन।” 
सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा आएको वित्तीय अनुशासनहीन कार्यको समाचारले आफुलाई कुनै फरक नपर्ने जिकिर गर्दै अध्यक्ष यादवले सार्वजनिक कार्यक्रम मार्फत भ्रष्टाचार तथा अनियमितता गरेको प्रमाणित गरेर देखाउन चुनौतीसम्म दिने गरेका छन् । 
यद्यपि अध्यक्ष यादवले इन्धन, चिया, खाजा तथा बैठकभत्ता, सल्लाहकारसहित विभिन्न शिर्षकमा कानून विपरीत लाखौं दोहोरो सुविधा लिएको महालेखाले ठहर गर्दै असुल उपर गर्न सुझाव दिएको छ । 
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले रित नपुर्‍याई गरिएको खर्चमा प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखा प्रमुख जिम्मेवार रहेको बताए । इन्धन तथा खाजामा दोहोरो सुविधा लिएको स्वीकार गर्दै उनले उक्त सुविधा समेत जनताकै सेवामा खर्चिएको दावी गरे ।