न्यूज टुडे
राजविराज, १० भदौ ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित रहेको कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरले विपन्न लक्षित छात्रवृत्तिको झुठो विवरण पेश गरी लाखौं निकासा गरेको पाइएको छ । विद्यालयले नियमित अध्यनरत नरहेका विद्यार्थीहरुको झुठो विवरण पेश गरी १५ लाख ७२ हजार निकासा गरेको खुलासा भएको हो ।
महालेखाको प्रतिबेदन २०७९/०८० ले गलत तथा झुठा विवरण पेश गरी विद्यालयले निकासा गरेको छात्रवृत्ति रकम शिक्षा नियमावली तथा विद्यालयले बनाएको आचारसंहिता विपरीत भएको ठहर गरेको छ ।
“विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को परिच्छेद ( ५ ) को ५.१४ मा छात्रवृत्ति रकम निकासाको समयसम्म सामुदायिक विद्यालयहरुमा विद्यार्थी नियमित अध्यनरत नरहेमा, गलत वा झुठा विवरण भरी फारम पेश गरेको प्रमाणित भएमा तथा विद्यार्थीले शिक्षा नियमावली तथा विद्यालयले बनाएको आचारसंहिता उल्लंघन गरेको प्रमाणित भएमा छात्रवृत्ति पाउन योग्य नहुंँने उल्लेख छ”महालेखा प्रतिवेदनमा भनिएको छ,”उल्लेखित निर्देशनको आधारमा सामुदायिक विद्यालयमा भर्ना मात्र गराउने तर नियमित कक्षा निजी विद्यालयमा गर्ने कन्छु नरप्रताप माविमा विज्ञान संकायमा दर्ताका लागि मात्र दर्ता भएको तर पढाई नहुने भएकोले सिलिपिङ्ग स्टुडेन्टलाई विपन्न लक्षित छात्रवृत्ति दिन नमिल्ने देल्हिन्छ।”
यसरी नियम विपरीत दिन नमिल्ने छात्रवृत्ति पालिकाले छानबिन गरी नियम विपरीत वितरण गरेको छात्रवृत्ति वापतको रकम र खर्चको श्रोत नखुलेको रकम असुल गर्न महालेखा प्रतिबेदनमा भनिएको छ ।
नियम अनुसार सामुदायिक विद्यालयहरुमा नियमित अध्यनरत नरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति गर्नुपर्ने रकम प्रदान गर्ने अधिकारी/पदाधिकारीलाई समेत जिम्मेवार वनाई विज्ञान संकाय पढाईको सम्बन्धमा पालिकाले आवश्यक छानवीन गरी नियम विपरीत वितरण गरिएको छात्रवृत्ति वापतको रकम र खर्चको श्रोत नखुलेको बाँकी २४ हजार गरी रु. १५ लाख ७२ हजार सम्बन्धित सबैबाट असुल गर्नुपर्नेछ ।”
यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरले आफ्नो कुनै संलग्नता नहुंँने भन्दै वडा, प्रधानाध्यापक र शिक्षा शाखाको कमजोरीले यस्तो भएको बताए ।
मावि रायपुरका प्रधानाध्यापक परशुराम यादवले छात्रवृत्ति वितरणमा विद्यालय र आफ्नो संलग्नता नगरेको दावी गरे । आफुले विद्यालयको तर्फबाट सम्पुर्ण विवरण पालिकामा पठाएको भन्दै उनले उक्त छात्रवृत्ति रकम विद्यालयको खातामा नदिई पालिकाले सोझै विद्यार्थीको खातामा पठाएको भन्ने सुन्नमा आएको बताए ।
रुपनी गाउँपालिकाका शिक्षा शाखा संयोजक रामलखन यादले आफूले जिम्मेवारी पाउनुभन्दा पहिलै नै छात्रवृत्ति वितरण गरिएकोले यसबारे केहिपनि थाहा नभएको बताए ।