• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्राधिककरणद्वारा पत्रकार झालाई बीमा सुविधाको चेक हस्तान्तरण

प्राधिककरणद्वारा पत्रकार झालाई बीमा सुविधाको चेक हस्तान्तरण
न्यूज टुडे
राजविराज, ३० साउन । 
धनुषाको जनकपुरधाम स्थित जनकपुर एफ.एम.ममा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ ।
आमसञ्चार प्राधिकरणको कार्यालयमा बुधबार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 
हाल २९ वर्षिया उनी जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । केपी खबर डट्कम्को म्यानेजिङ्ग डायरेक्टरको रुपमा समेत कार्यरत रहेकी  उनी विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय छिन् । 
गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको थियो । मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बारा पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो । सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना महिला पत्रकारहरुको बीमा गरेको थियो ।
 शुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा सहयोग गर्दैआएकोमा गत आ.व.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताए। 
उनका अनुसार चालु आ.व.२०८१/०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहेकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिए ।