• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेसमा मधुश्रावणीको रौनक
न्यूज टुडे
राजविराज, १४ साउन । 
मिथिला अञ्चलका सिमित जातजातिका नव बिवाहिता महिलाले बिहिवारदेखि मधुश्रावणी ब्रत गरेका छन् । साउन महिनाको मैना पञ्चमी तिथी देखि शुरू हुने मधुश्रावणी ब्रत एक हप्तादेखी शुरु भएको हो ।
देव,ब्राह्मण,कर्ण तथा सोनार जातीका नव बिवाहिता महिलाले अखण्ड शौभाग्यवति,पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा ‘मधुश्रावणी’ पर्व मनाउने गरेेको राजविराज १६ वोरियाकी विमला देवले जानकारी दिईन् ।
मधुश्रावणी सुरु भएको दिनलाई मौना पञ्चमी तथा नागपञ्चमी समेत भन्ने गरिन्छ । मिथिला संस्कार र परम्परा अनुसार नव–विवाहित मैथिल महिलाहरुका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्व मध्ये एक हो । 
यो व्रत नागपञ्चमीको दिनदेखी श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइने गरिन्छ ।
पर्वको एक दिन पहिले नव–विवाहित महिलाहरुको माईताबाट आएको नयाँ लुगा, नाग–नागिन, नाग नागिन पुजा गर्नका लागि फूल चढाउन र ब्रतालु महिलाका खानकालागि फल,चना, चामल सामाग्री पठाउने चलन 
रहेको झाको भनाइ रहेको छ ।
ब्रतको अघिल्लो दिन ब्रतालु महिला विहानै नुहाई ध्वाई गरेपछि लसुन प्याज, माछा, मासु, नुन बारेर अलिनो खान्छ्न । उनीहरूले आफ्ना माइतीघरबाट आएको फलफुल खाने प्रचलन रहेको छ । त्यसदिनलाई मैथिली भाषामा नहाईखाइ भन्ने चलन छ ।
व्रत भरी हरेक दिन नव–विवाहिता महिलाले साथीसंगीसंग साँझाको समयमा आफ्ना घर–आँगन तथा गाउँभरी रहेका फुलफुलको हाँगा, दुबो, पान, बेलको पात लगायत टिपेर ल्याउने बेलुका ल्याएको फुल त्यसको भोलिपल्ट विधिपुर्वक देवी देवता लगायत शिव पार्वतीको गीत,कथा सुनेर त्यही फुल चढाउँने गर्छन ।
मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिव लगायत नाग–नागिनको समेत कथा सुन्ने चलन रहेको पत्रकार सुधा देवको भनाई रहेको छ ।
मधुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसा देवीको पुजाका साथ–साथै माटोले बनाईएका नाग–नागिन र हात्तीको पुजा गरिन्छ ।
नवविवाहिता महिलाहरुले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव–वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसंग मनाउदै आएको उनले बताए ।
बर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन हुने भएकोले उनीहरूको सम्मानका लागि नाग–नागिनको साथै शिव–पार्वतीको पूजा गर्ने चलन रहेको राजवि -२ कि ममता झाले बताईन् ।
नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रव्ततालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पका वंशको बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको छ ।
तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भनिन्छ । त्यसदिन फेरी माईती पक्षबाट ब्रतालु महिलाको लागि खाने देखी लिएर लगाउने लुगा समेत पठाउने गर्छन । यसरी माईताबाट आएको नयाँ लुगा लगाई फलफुल चढाउने र खाने चलन रहेको छ ।
मिथिलाको चाडपर्व र संस्कृतिको बिशेष महत्त्व रहेको छ । ज्ञान र बिद्याको रूपमा परिचित थलो मिथिलमा महिलाको उच्च स्थान रहदै आएको छ । 
मिथिलाको पोखरीको माछा र मखान प्रसिद्ध थियोे । मिथिलाको चाँडपर्व बैज्ञानिक देखिन्छ । प्रत्येक चाडपर्वले कुनै न कुनै सन्देश दिएको छ । नेपाल र भारतमा मनाईने मधुश्रावणी पुजालाई कतै हरियाली तिज,श्रावणी द्वितीया भन्ने चलन रहेको छ । 
यस ब्रतमा चढाईने वेलपात,मानेको पात, धानको लावा,गाईको दूध,फलफुल,खीर लगायत अधिकांश सामाग्री प्रकृति संग जोडिएकोले यस पर्वले प्रकृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने पाठ समेत सिकाएको छ ।
हिन्दु धर्मालम्बिहरूले गर्ने हरेक पुजामा पुरूष पुरोहितले पुजा गरेपनि यस पुजामा महिलाको मात्र सहभागिता रहने गरेकोले यस व्रतको आफ्नै महत्त्व र विशेषता रहेको साहित्यकार करूणा झा बताउँछन् 
महिलाले पुजा गर्ने,कथा भन्ने,गीत गाउँने,फुल टिप्ने सबै महिला नै रहेकोले यस पर्वमा महिला पुरूषभन्दा अग्र स्थानमा रहेको सन्देश दिएको उनको भनाइ रहेको छ ।
नव बिबाहिता ब्रतालु महिला नेहा देवका अनुसार यस ब्रतमा भनिने कथा र गीतले नवविवाहिता महिलाले आफ्नो बैबाहिक जीवनलाई कसरी सहजरूपले अगाडि बढाउने भन्ने सन्देश दिएको महशुस हुन्छ । 
यो हाम्रो संस्कृति र रितिरिवाज भएको र विवाहको पहिलो वर्ष मात्र विधिवत मनाउने भएकोले यसको आनन्द सबै नवविवाहिता महिलाले लिनुपर्ने उनको भनाई रहेको छ ।