• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैंकिङ कसुरका आरोपित झालाई पक्राउ गर्न आलटाल गरेको गुनासो

बैंकिङ कसुरका आरोपित झालाई पक्राउ गर्न आलटाल गरेको गुनासो
न्यूज टुडे
राजविराज, ०५ साउन ।
बैकिङ कसुरका आरोपित डा. विवेक कुमार झालाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको पीडितले गुनासो गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका ३ बस्ने श्याम नारायण यादवले राजविराजमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै मुद्दा दर्ता भएको ४ हप्ता वित्दा पनि झालाई प्रहरीले पक्राउ गरी कारबाही नचालाएको गुनासो गरेका हुन् । 
आफुले विदेशमा पसिना बगाएर कमाएको २५ लाख रुपियाँ छिमेकी झाले व्यापार गर्नु भनि सापटी लिएको ५ बर्ष पुग्दा समेत फिर्ता नदिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बैंकिङ कसुरको जाहेरी दर्खास्त दिएको पीडित यादवले बताए ।  सापटी लिएको रकम आजभोलि गर्दै नदिएपछि धेरैपटक भनसुन गर्दा खातामा पैसा नभएको  बैंकको चेक दिएर झाले ठगी गरेको उनले आरोप लगाए । 
” मेरो पैसा लिएर विवेकले व्यापार गरिरहेको छ, मेरो रुपियाँ दिएको छैन”, यादवले भने, “धैरै प्रयासपछि बैंकको चेक दियो, त्यो चेक पनि वाउन्स भयो, खातामा पैसा थिएन, झाले मलाई ठग्यो । ” 
आफू ठगिएको थाहा पाएपछि बैकिङ कसुरको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न जाँदा नमानेपछि उच्च अदालत राजविराज- जनकपुरबाट परमादेश लिई झा विरुद्ध २०८१ असार १० गते बैंकिङ कसुर जाहेरी दरखास्त दर्ता गरेको उनले पत्रकार सम्मेलनमा बताए । 
निकै कठिनपुर्वक मुद्दा दर्ता भएको हप्तौं वित्दा समेत झालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न आलटाल गरेको यादवले गुनासो गरे । 
“बैंकिङ कसुरको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाँदा प्रहरी सरहरुले मेरो जाहेरी दर्ता गरिदिनु भएंँन”, यादवले भने, त्यसपछि उच्च अदालत राजविराजबाट परमादेश ०८०-वो-०८८७ को आदेश भयो यो परमादेशबाट पनि प्रहरी सरहरुले सजिलो संग दर्ता गरिदिनु भएँन, धेरै पटक मलाई दुख दिएर फर्काउने काम गर्नुभयो”, उनले थपे- पटकपटक- धैरैपटक प्रहरी कार्यालयमा परमादेशको चिट्ठी लिएर जाँदा असार १० गते दर्ता नम्बर ४०२ मा बैंकिङ कसुरको मुद्दा दर्ता गरिदिनु भयो ।”
झालाई पक्राउ गरि कारबाहीका लागि प्रहरीलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको पत्रकार सम्मेलनमा यादवले बताए ।  प्रहरीले झालाई उल्टै संरक्षण दिएको आरोप लगाउँदै यादवले पक्राउ गरी अनुसन्धान गरि दिनुभन्दा तेरो मुद्दा पक्का तामेलीमा राखिदिन्छु भन्दै विवेकको प्रभावमा परी प्रहरी अधिकारीहरुले धम्क्याउने गरेको गुनासो गरे । 
“अहिले आएर विवेक झा दिनकै प्रहरी कार्यालय भित्र कार लिएर आउंँछ, मुद्दा फाँटको सइ सर , इन्स्पेक्टर सर र डिएसपी सरसंग हात मिलाउँछ”, उनले भने, “संगै बसेर चिया खानुहुन्छ तर विवेकलाई पक्रेर अनुसन्धान गर्नुपर्नेमा उल्टै अपराधिलाई प्रहरीले संरक्षण दिएको छ । ” 
“प्रहरी मेरो मुठीमा छ, हेर्छ्स म प्रहरी कार्यालयमा जान्छु मलाई कसैले केही भन्दैन, प्रहरीलाई मिलाएको छु -विवेकले मलाई भन्छ ” यादवले पत्रकार सम्मेलनमा भने । 
प्रभावमा परी प्रहरीले विवेकलाई पक्राउ गरी अनुसन्धान गर्न तदारुकता नदेखाएकोले आफू साह्रै अन्यायमा परेको हुँदा उनलाई चाँडो पक्राउ गरी कानुन बमोजिम कारबाहीका लागि पहल गरिदिन संचारकर्मीसहित सरोकारवालाहरुसंग पीडितले पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेका छन् । 
आरोपित विवेक कुमार झाले श्याम नारायणसंग पैसा सापटी नलिएको र चेक समेत आफुले नदिएको दावी गर्दै अरुको उक्साहटमा दुख दिने नियतले आफू विरुद्ध चेकमा आफ्नो सहि कृते गरी झुठो मुद्दा चलाएको बताए । 
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेले यादवले प्रहरीमाथि लगाएको आरोप निरधार रहेको भन्दै परमादेशबाट मुद्दा दर्ता भएकोले अनुसन्धान अगाडि बढाएको बताए ।  प्रहरी कसैको दवाव तथा प्रभावमा नपर्ने जिकिर गर्दै डिएसपी नेउपानेले अनुसन्धानपछि अदालतबाट पक्राउ पुर्जी जारी हुनसाथ झालाई पक्राउ गर्ने बताए ।