न्यूज टुडे
राजविराज, ०२ साउन ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको सामाजिक सेवा इकाईद्वारा आर्थिक बर्ष २०८०/८१ को बार्षिक समिक्षा गरिएको छ। गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीको प्रमुख आतिथ्यमा स्वास्थ्य सेवा कार्यक्रमको समिक्षा गरिएको हो ।
नेपाल सरकारको निर्णय अनुसार अस्पतालबाट सेवा लिन आउने विरामी खास गरी गरिव जनता पैसाको अभावमा स्वास्थ्योपचारबाट बन्चित नहोस र उनीहरुको सहयोगको लागि यो इकाई स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेंडेंट डा.नागेन्द्र प्रसाद यादवले बताए ।
सामाजिक सेवा इकाईका प्रमुख सूर्य कान्त झाले आर्थिक बर्ष २०८०/८१ को प्रगति विवरण पेश गर्दै इकाईबाट सेवा पाउने ५९ बर्ष मुनिका बिरामीको संख्या गत वर्ष को तुलनामा २६.३ प्रतिशतले वृद्धि भई २हजार ७ सय ८० रहेको बताए ।
यसैगरी ज्येष्ठ नागरिक विरामीको संख्या २७.७ प्रतिशतको दरले वृद्धि भइ ९ सय ५० रहेको र ती विरामीहरुको स्वास्थ्योपचारमा रकम गत वर्ष को तुलनामा २१.४ प्रतिशत को दरले वृद्धि गरी ३५ लाख २७ हजार ५ सय ३९ रुपिया खर्च भएको जानकारी दिए ।