न्यूज टुडे
राजविराज, ०१ साउन ।
सप्तरीका कुख्यात मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती शिवकुमारी साहलाई धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश उमानाथ गौतमको एकल इजलासले आइतबार २५ लाख रुपियाँ धरौटी लिएर साहलाई थुनामुक्त गर्न आदेश दिएको हो।
खडक नगरपालिका– ७ कल्याणपुरकी मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती मिटरब्याजी शिवकुमारीलाई असार २६ गते धरानबाट पक्राउ गरी राजविराज ल्याइएको थियो ।
परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए । निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । विपन्न नागरिकलाई उठिबास लगाउने रामदेवसहित अन्य भने फरार छन् ।
खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छाेरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो भने अर्का छोरी रेणु कुमारी साह १ लाख ५० हजार धरौटी बुझाएर रिहा भएकी छिन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई २२ असार ०७९ सालमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । त्यसपछि छोरा र छोरीलाई जनही ५०-५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।
खडक नगरपालिका– ७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए । नन्दकिशोर, अनुराधा, रेणुकुमारी र श्रीमती शिवकुमारीबाहेक तीनजना फरार छन् ।
उजुरी परे पनि अनुसन्धानमा प्रहरीले आलटाल गर्दै आएको थियो । विपन्नमाथि अत्याचारबार भएको भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए ।
पक्राउ परेकी शिव कुमारीलाई कडा सजायको माग गर्दै पीडितहरुले आइतबार सप्तरी जिल्ला अदालत राजविराज अगाडि शान्तिपूर्ण प्रदर्शन तथा धार्ना दिएका थिए ।