कुख्यात मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा सजायको माग गर्दै सप्तरीका मिटर व्याज पीडितहरु सप्तरी जिल्ला अदालत राजविराज अगाडि आइतबार शान्तिपूर्ण प्रदर्शन गर्दै धर्ना बसेका छन् । मिटर व्याज पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष मो.तैयवको नेतृत्वमा विभिन्न स्थानबाट सदरमुकाम राजविराज पुगेका उनीहरु जिल्ला अदालत अगाडि शान्तिपूर्ण प्रदर्शनसहित धर्ना बसेका हुन् ।
पक्राउ परेकी रामदेवका श्रीमतीलाई कडा सजायको माग गर्दै अदालत अगाडि धर्ना बसेका मिटर ब्याज पीडितहरु । फोटो : न्यूज टुडे
कुख्यात मिटर व्याज पीडित रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा सजाय दे, रामदेव साहको परिवारले हड्पेको जग्गा निसर्त फिर्ता गर, रामदेव साहलाई पक्राउ गरी कारबाही गर लगायतका नारा उल्लेख प्लेकार्डसहित पीडितहरु विहान १० बजेदेखि जिल्ला अदालत अगाडि शान्तिपुर्ण प्रदर्शन सहित धर्ना बसेका छन् ।
रामदेव साह पक्राउ नपरेसम्म र रामदेव साहको परिवारले हड्पेको अर्बौको सम्पत्ति फिर्ता नभएसम्म दवाव मुलक संघर्षका कार्यक्रम जारी राख्ने पीडितहरुले बताए ।
मिटर व्याजीको आरोपमा पक्राउ परेकी रामदेवका श्रीमती शिव कुमारी साह । फोटो : न्यूज टुडे
धरानबाट असार २६ गते पक्राउ परेकी साहको जिल्ला अदालतमा आइतबार थुनछेक बहस चलिरहेकोले हदैसम्मको सजायको माग राखी शान्तिपूर्ण प्रदर्शन र धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष मो. तैयवले बताए ।
साहलाई धरान उपमहानगर पालिका वडा नम्बर १९ मा लुकेर बसेको अबस्थामा इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राई नेतृत्वको प्रहरी टोलीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट गएको टोलीलाई बुझाएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजको हिरासतमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रामदेव साह र उनको परिवार विरुद्ध २०७८ सालमा ठगी अपराधिक तथा बिश्वासघात मुद्दा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भएको थियो।
रामदेव साह तेली, उनका श्रीमति छोराछोरी र नातिनातिनी लगायत सात जना उपर मुदा दर्ता भएको पिडित मो. तैयवले जानकारी गराएको छ।
उनीहरु विरुद्ध मुद्दा दर्ता भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गर्न निर्देशन दिएको थियो। ऊनी ०७८ सालदेखि फरार रहेको थियो।
यसअघि २०७९ साल जेष्ठ २६ मा छोरा नन्दकिशोर साह धरानबाट र २८ गते छोरी अनुराधा साह पक्राउ परेका छन् । दुबैजानाले उच्च अदालत जनकपुर-राजबिराजमा मुद्दा दर्ता गरेपनि जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको थियो ।त्यसपछि उनीहरुले सर्बोच्च अदालत काठमाडौ मुद्दा दर्ता गरेपछि २०८१ जेठ ११ गते सर्बोच्च का न्यायाधीश तिल प्रसाद श्रेष्ठ र टेक प्रसाद ढुंगानाको इजाजतले दुबै जनासंग जनही पचास लाख धरौटी लिइ छोड्न आदेश दिएका थिए । धरौटी बुझाउन नसकेपछि उनीहरु अहिलेपनि कारागारमै रहेका छन् । अनुराधा विराटनगर कारागारमा छिन् भने नन्दकिशोर राजविराज कारागारमा छन् ।
सर्बोच्चको फैसलाबाट अन्यायमा परेको भन्दै पिडित पक्षले आदेश विरुद्ध माथिल्लो निकायमा जाने बताउँदै आएका छन् । आफुहरुको अर्बौंको सम्पत्ति फिर्ता र साह परिवारलाई हदैसम्मको सजायको माग राखी न्याय परिषदमा निवेदन दिने पीडितहरुले बताए ।
माइली छोरी रेणु साह उच्च अदालत जनकपुर -राजबिराजको आदेशमा एक लाख पचास हजार धरौटी जम्मा गरेर रिहाई भएकी छिन् । रामदेव साह, उनकी साइली छोरी पुशा कुमारी साह र नाति चन्दन कुमार साह र लेखापाल( मुन्सी) बालेश्वर प्रसाद सिंह हालसम्म पनि फरार छ्न। उनीहरुको सातैजनाको सम्पुर्ण सम्पती, घर जगा बैंक खाता समेत रोक्का गरिएको छ।