सप्तरीको सप्तकोशी नगरपालिका २ स्थित सुकुम्बासी टोलका बाढी पीडित ५१ परिवार विचल्लीमा परेका छन् । अविरल बर्षासंगै त्रियुगा खोलामा आएको बाढी पसेर गाउँनै जलमग्न भएपछि उनीहरु विचल्लीमा परेका हुन् ।
जोखिम मोल्दै डुवानमा परेको परिवारको खाद्यान्न निकाल्दै वडा अध्यक्ष हुसैन । फोटो : न्यूज टुडे
बाढीले खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य बस्तुहरु भिजेर नष्ट भएपछि खानपिउन र बास बस्न समेत समस्या भएको पीडितहरुले बताए । घर भित्रबाट पानीको खोला बगेकाले २ दिनदेखि चुल्होमा दाउरा जोड्न नपाउँदा भुजा फांँकेर बस्नु परेको बाढी पीडितहरुले दुखेसो सुनाए ।
बाढीले ट्युबवेल, मोटरलगायत पानीको श्रोत डुवान हुँदा खानेपानीको समस्या उत्पन्न भएको पीडितहरुले बताए ।पिउने पानीको समस्या हुँदा खोलाको पानी र बोतलको पानी किनेर खानु बाध्य भएको उनीहरूको दुखेसो सुनाए ।
बाढी कायम रहेकाले जोखिमपुर्ण अवस्थामा पीडितहरु घरमा बसिरहेको सप्तकोशी नगरपालिका वडा नम्बर २ का अध्यक्ष जाहिर हुसैनले बताए । बाढी घट्दै गएपछि विस्थापित बाढी पीडित परिवारहरु बुधबार दिउंँसो देखि आफ्नै घर फर्किएको उनले जानकारी दिए ।
पीडितहरु विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले दिएको राहत सामाग्री खाएर दिन काटीरहेको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकोले भत्किएको तटबन्धको मर्मत सम्भार तथा बाढी रोकथामको कार्य अझैसम्म गर्न नसकिएको उनले जानकारी दिए । भत्किएको तटबन्ध बाध्ने प्रयास जारी रहेपनि बाढी नरोकिएकोले सफल हुन नसकेको उनले बताए ।
बाढीका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग र बिरामीहरु बढी प्रभावित भएको वडा अध्यक्ष हुसैनले जानकारी दिए ।
भारी बर्षासंगै मंगलबार विहान १० बजे सुकुम्बासी बस्तीमा त्रियुगा खोलाको बाढी पस्दा मुश्लिम टोलका १६ र राम टोलका ३५ परिवारका गरी ५१ परिवार विस्थापित भएका थिए । उनीहरुलाई जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीका रेसक्युटोलीले उद्वार गरी सुरक्षित स्थानमा सारेका थिए ।
यसैगरी प्रथन सदा,बेचन राम,राजेश सदा,शिव नारायण राम, शत्रुधन राम, लक्ष्मण राम,सानू राम,विन्दु राम,लिला राम, दशरथ राम,सिकिमे राई, मिना चौधरी,देबकानत चौधरी, सटकन राम, सकिल खान, इदरिज मियाँ, लक्ष्मण राम, सुसाडी राम,दिनेश राम, महादेव राम, देव नारायण राम, संजय राम, मुकुन्द परियार, संजय (संजिव) विक अजय राम र उर्मिला यादवसहित ५१ घरको सयबढी घर डुवानमा परेको वडा अध्यक्ष हुसैनले जानकारी दिए ।
बाढीले रोपाइँ गरिएको खेत र रोप्ने तयारीमा रहेको धानको वीउ पनि बगाएर तथा बालुवाले पुरेर क्षति गरेको पीडितहरुले दुखेसो सुनाए ।