• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सडक भत्काएर अलपत्र छोड्दा घर भासिने जोखिम

सडक भत्काएर अलपत्र छोड्दा घर भासिने जोखिम
न्यूज टुडे
राजविराज, २४ असार । 
पुर्वपश्चिम राजमार्गको कंचनपुर- कमला सडक योजनाले बर्षौदेखि सडक भत्काएर छोड्दा राजमार्ग आसपासका घरहरु भासिने जोखिम बढेको छ । लामो समयदेखि सडक भत्काएर अलपत्र अवस्थामा छोड्दा भुक्षय भई सडक आसपासका घरहरु भासिने उच्च जोखिम बढेको हो । 
सडक निर्माणको क्रममा राजमार्ग क्षेत्रमा खनेर बर्षोबार्षसम्म वेवारिसे अवस्थामा छोड्दा बर्षायाममा आउने बाढीले सडक आसपासका घरहरुमा कटान गर्दा भासिने खतरा बढेको पीडितहरु बताउँछन् । 
घर अगाडि सडक खनेर छोड्दा बाढीले कटान सुरु गर्दा घर भासिने जोखिम बढेको सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का रत्न बहादुर तामाङले बताए । आफ्नो समस्या बारे सडक आयोजनाका प्रतिनिधिहरुलाई पटकपटक जानकारी गराउंँदा समेत सुनुवाइ नभएको उनले गुनासो गरे । 
“सडक खनेर छोडेको बर्षौ भयो, बाढीले कटान गरेर  सौचालय भत्काई सक्यो”, उनले भने,” पानीले कटान गर्दा घरमुनीबाट पानीको भल बग्न थाल्यो, यस्तै हो भने कतिबेला घर भासिने हो ठेगान छैन ।” 
यी प्रतिनिधिमुलक समस्या मात्र हो, सडक योजनाको लापरबाहीको कारण सयौं व्यक्तिले यस्ता समस्याको सामना गरिएको स्थानीयहरु बताउछन् । 
सडक निर्माणको क्रममा ढलनिकासका लागि निर्माण गरिएको नालाहरु पुरिएर पानीको निकास ठप्प हुंँदा घरभित्र बाढी बग्ने गरेको पीडितहरु बताउँछन् ।
सडक निर्माण कार्यले पानीको निकास रोकिँदा बर्षायाममा बाढी घरभित्र पसेर ठूलो समस्या खेप्नुपरेको सडक आयोजना पीडितहरुको दुखेसो छ । 
पानीको बैकल्पिक निकास विनै बर्षौदेखि सडक खनेर अलपत्र अवस्थामा राख्दा सडक आसपासका बासिन्दा बढी मर्कामा परेको रुपनी गाउँपालिका वडा नम्बर ६ का कुमारमान श्रेष्ठले बताए । निर्माण कार्यले तिब्रता नलिंदा हिउँदमा धुलो र बर्षामा बाढी तथा हिलोको मार खेप्नु परेको उनले बताए ।
निर्माण कम्पनी र प्राबिधिक पक्ष हेर्ने इन्जिनियरको हिसाब कितावमा कुरा नमिल्दा सडक निर्माण कार्यले गति नलिंदा आफुहरु यसको मारमा परेको पीडितहरुको कथन छ  । 
सडक निर्माणको कार्य ४  बर्ष अगाडिदेखि सुरु गरिएपनि करिव ४ महिना मात्र समयअवधि बाँकी रहदा अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 
कंचनपुर- कमला  सडक योजनाको ठेक्का चाईना रेल्वे  नम्बर २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ्ग कनसल्टेसिङ्ग प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन ( बंगलादेश) र एसोसिएसन विट प्रालि. नेपाल रहेको छ । 
सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि  शुरु भई२०२३ अक्टोबर २८सम्म सक्नुपर्ने भएपनि समयमा काम सम्पन्न नभएपछि पुन: १४ महिना म्याद थप गरि २०२४ डिसेम्बर २८ सम्म पुर्‍याइएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
वर्षा हुनसाथ निर्माण कार्य ठप्प पारिने गरिएकोले सडक योजनाको काम अझै बर्षोबर्ष लाग्न सक्ने आयोजना पीडितहरुले जानकारी दिए ।