• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, ६ मन्त्री बर्खास्त 

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, ६ मन्त्री बर्खास्त 
न्यूज टुडे
राजविराज, २२ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शनिबार मुख्यमन्त्री सिंहले काँग्रेस र एमालेको समर्थनमा विश्वासको मत लिएका हुन् ।
प्रदेश सभामा  उपस्थिति १ सय १ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिए।
मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन्। जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टीले भने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे।
सदनबाट विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए। केन्द्र राजनीतिमा समीकरण परिवर्तन भएसँगै उनले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री सिंहले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एसबाट कृषि मन्त्री बनेका गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुंगेलीलाई बर्खास्त गरेका छन्। त्यसैगरी, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।