न्यूज टुडे
राजविराज, १८ असार ।
पुर्वपश्चिम राजमार्गको कंचनपुर- कमला सडक योजनाको निर्माण कार्यले गति नलिंदा सर्वसाधारणलाई सास्ती भएको छ । लामो समयदेखि सडक भत्काएर अलपत्र अवस्थामा छोड्दा सडक आसपासका बासिन्दाले सास्ती खेप्नु परेको हो ।
सडक निर्माण कार्यले पानीको निकास रोकिँदा बर्षायाममा बाढी घरभित्र पसेर ठूलो समस्या खेप्नुपरेको सडक आयोजना पीडितहरुको दुखेसो छ । पानीको बैकल्पिक निकास विनै बर्षौदेखि सडक खनेर अलपत्र अवस्थामा राख्दा सडक आसपासका बासिन्दा बढी मर्कामा परेको साविक तेरहौता गाविसका अध्यक्ष दिपक कुमार चौधरीले बताए ।
सडक निर्माणको क्रममा ढलनिकासका लागि निर्माण गरिएको नालाहरु पुरिएर पानीको निकास ठप्प हुंँदा घरभित्र बाढी बग्ने गरेको पीडितहरु बताउँछन् ।
निर्माण कम्पनी र प्राबिधिक पक्ष हेर्ने इन्जिनियरको लापरबाहीले आफुहरु मारमा परेको पीडितहरुको गुनासो छ । दुबैपक्षको कमाउने दाउले सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले प्राविधिक पक्षलाई खुशी पार्न भोजभतेरदेखि मटो कमिसन बुझाउंँदा समेत काममा असहयोग हुँदा कामले गतिलिन नसकिरहेको श्रोतको दावी छ ।
सडक निर्माण कार्यले तिब्रता नलिंदा हिउँदमा धुलो र बर्षामा बाढी तथा हिलोको मार खेप्नु परेको अग्नीसाईर कृष्णासवरन गाउँपलिका वडा नम्बर २ का बैजु माझीले बताए ।
सडक निर्माणले पुर्णता नपाउँदा सवारी साधन आवतजावतमा समस्या हुने गरेको उनले जानकारी दिए । सडकका कारण सडक आसपासका बासिन्दा मारमा परेका छन् नै सार्वजनिक तथा निजि सवारी साधनमा यात्रा गर्नेहरुले झनै ठूलो सास्ती खेप्नु परेको उनले बताए ।
सडक निर्माणको कार्य ४ बर्ष अगाडिदेखि सुरु गरिएपनि अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
कंचनपुर- कमला सडक योजनाको ठेक्का चाईना रेल्वे नम्बर २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ्ग कनसल्टेसिङ्ग प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन ( बंगलादेश) र एसोसिएसन विट प्रालि. नेपाल रहेको छ ।
सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि शुरु भई२०२३ अक्टोबर २८सम्म सक्नुपर्ने भएपनि समयमा काम सम्पन्न नभएपछि पुन: १४ महिना म्याद थप गरि २०२४ डिसेम्बर २८ सम्म पुर्याइएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
करिव चार महिना मात्र समयावधि रहँदा कंचनपुर- कमला सडक योजना पुर्वी खण्ड अन्तर्गत कंचनपुरदेखि कुसाहासम्मको ३९ . ४२ किमिको निर्माण कार्य ५१. ५ प्रतिशत तथा कुशाहा- कमला पश्चिम खण्डको ५५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
वर्षा हुनसाथ निर्माण कार्य ठप्प पारिने भएकोले सडक योजनाको काम अझै बर्षोबर्ष लाग्न सक्ने आयोजना पीडितहरुले जानकारी दिए ।