सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित धिमारमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८१ मनाइएको छ । किसान कृषि सहकारी संस्था भिमारका अध्यक्ष रमाननन्द चौधरीको अध्यक्षता तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच धान दिवस मनाएको हो ।
राष्ट्रिय धान दिवसको अवसरमा सप्तरीको भिमारमा आयोजित कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले बड्दो आधुनिकीकरण संगै कृषि भएको यान्त्रिकीकरणले हलगोरुबाट खेत जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । हलगोरु राख्दा प्राङ्गारिक मल उत्पादन भई खाधमलको समस्या न्यूनीकरण हुने बताउदै उनले कृषि क्षेत्रको समस्या कम गर्न र उत्पादनमा वृद्धि ल्याउन गाईगोरु, भैंसी, बाख्रा लगायतका पशुपालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय अध्यक्ष पंचकाजी श्रेष्ठ । फोटो : न्यूज टुडे
किसानहरुको वर्गीकरण गरी कृषी परिचयपत्र वितरणलगायतका धेरै किसानमैत्री कार्यक्रम गाउँपालिकाले ल्याएको जानकारी दिदै अध्यक्ष चौधरीले २०८१ भित्रै किसान परिचयपत्र वितरण गरि किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय अध्यक्ष पन्चकाजी श्रेष्ठले देशका नेतृत्वको असक्षमताले किसानहरु मारमा परेको टिप्पणी गरे ।
विदेशमा सिंचाइ तथा अन्य धेरै अभाव हुँदा समेत कृषि क्षेत्रमा धैरै फड्को मारेको चर्चा गर्दै उनले नेपालमा प्रयाप्त श्रोत साधान र सम्भावना हुँदाहुँदै पनि देशको नेतृत्व ठिक नहुंँदा कृषिमा पछाडि परेको बताए ।
पत्रकार बृजमान तामाङले कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा प्रविधिमैत्री तथा यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिए । कृषिलाई यान्त्रिकीकरण गर्दा समयको बचत हुने तथा प्रविधिसंग जोड्दा थोरै लगानीमा उत्पादन वृद्धि हुने उनको भनाइ थियो ।
संघ तथा प्रदेश सरकार भन्दा स्थानीय सरकार जनताको सरकार भएको बताउंँदै उनले स्थानीय समस्याको पहिचान गरी स्थानीय सरकाले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
किसान टिकालक्ष्मी चौधरीले सिंचाइ तथा मलखादको सहज उपलब्धताका लागि सहयोग गरिदिन स्थानीय सरकारसंग आग्रह गरिन । धान दिवस तथा रोपाइ महोत्सवले किसानहरुमा हौसला मिलेको बताउंँदै उनले आगामी दिनमा स्थानीय सरकारको सहयोगमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका, केयर नेपाल, कृषि ज्ञानकेन्द्र सप्तरी, किसान कृषि सहकारी संस्था भिमार, अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हा, राष्ट्रिय कृषक समूह महासंघ नेपालको संयुक्त आयोजना तथा सहकार्यमा आयोजित कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, राष्ट्रिय कृषक समुह महासंघ नेपालकी केन्द्रीय सदस्य सुमित्रा कुमारी चौधरी, मधेश प्रदेश अध्यक्ष दिपक ठाकुर, जिल्ला अध्यक्ष तेजनारायण यादव, पुर्व अध्यक्ष सुखीलाल यादव, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कृषि शाखा संयोजक चन्द्ररेखा कुमारी चौधरीलगायतका स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो ।
किसान कृषि सहकारी संस्थाका सदस्य उदयनारायण यादवले कार्यक्रम संचालन गरेका थिए ।
“जलबायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराको साथ आयोजित कार्यक्रममा धान रोपाई तथा शुभकामना आदानप्रदान गरी राष्ट्रिय धान दिवस मनाएको अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हाका व्यवस्थापक रामी यादवले जानकारी दिए ।