अविरल बर्षासंगै खाडो खोलामा आएको बाढी बस्तीमा पसेर डुवानमा परेपछि रुपनी गाउँपालिका १ का दर्जनौं बाढी पीडित परिवार विचल्ली परेको छ । रुपनी गाउँपालिका १ स्थित तटबन्ध सतहमाथिबाट बाढी गाउँ पसेपछि पुरै बस्ती नै जलमग्न भएको हो ।
बाढी पीडित परिवारलाई राहत प्रदान गर्दै रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव । फोटो : न्यूज टुडे
स्थानीय असर्फी मरिक,महेन्द्र मरिक,राजेन्द्र मरिक,राम नारायण महतो,सरोज महतो,मनोज महतो,राज कुमार ठाकुर ,मो. गुलाब रसुल,खोजेदा खातुन,मो. सजाद,तसलिम मियांँ,मो .सहिम,मो. सफरुदिन,मो. जिन्नत,मो. साबिर,मो. इरफान,मो. सहोद,गुलजार मिंयांँ,कमलेश यादव,जुवेदा खातुन,पिन्की सरदार लगायत २५ घर जलमग्न हुँदा सयौं ब्यक्ति विचल्लीमा परेका छन् ।
बाढीले खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य बस्तु भिजेर काम नलाग्ने भएको पीडित असर्फी मरिकले बताए । बाढी पसेर घर डुवानमा परेपछि चुल्हो बाल्न समेत समस्या उत्पन्न भएको उनले दुखेसो पोखे ।
भीषण बर्षाका कारण पुर्वपश्चिम राजमार्गमा पानीको निकास बन्द हुँदा डुवानमा परेको पार्किङ गरेर राखेको सवारी साधन । फोटो न्यूज टुडे
यसैगरी रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, विपद व्यवस्थापन संयोजक मिथिलेश यादव,वडा नम्बर १ का पुर्व वडा अध्यक्ष पिताम्बर यादव, इलाका प्रहरी कार्यलय रुपनीका प्रमुख पुलकित यादवसहितका टोली बुधबार बिहानै बाढी प्रभावित क्षेत्रमा पुगेर खाडो तटबन्धको स्थलगत अनुगमन गरेका छन् ।
उनीहरुले बाढी प्रभावित क्षेत्रका समस्या बारे जानकारी लिदै थप समस्या हुन नदिन र खांँडो नदि नियन्त्रणको लागि सम्बन्धित निकायहरुलाई जानकारी समेत गराएका छन् । उनीहरुले बाढी पीडित परिवारलाई राहत स्वरुप भुजा, दाल लगायतका सामाग्री समेत प्रदान गरेका थिए।
शम्भुनाथ नगरपालिका १ नम्बर वडाद्वारा मधेश प्रदेश सरकारको सहयोगमा पोखरी खन्ने र खेल मैदान निर्माण गर्ने कार्यले बस्तीमा पानी पसेको स्थानीयले आरोप लगाएका छन् ।
“पहिले नदि नियन्त्रणको काम गर्नुपर्ने थियो, अनिमात्र पोखरी खन्ने तथा खेलमैदानको काम गर्नु पर्थियो”, बाढी पीडित रामनारायण महतोले भने, “तर बिना सुझबुझ हचुवाको भरमा काम गरिरहेको छ, त्यो काम वालुवामा पानी हाले जस्तो मात्र भएको छ। ”
उनले शम्भुनाथ नगरपालिकाको बदमासीले आफुहरु डुवानमा परेको बताए । महतोले अब आउने बाढीले निर्माणाधीन पोखरी र खेल मैदान स्वाहा हुनुको साथै खोलाले धार परिबर्तन गर्ने सम्भावना बढी भएकोले थप बाढीको जोखिम रहेको बताए ।
“१२ बर्ष देखि घर बनाएर बस्दै आएको छु, अहिलेसम्म मेरो घरमा कहिले पानी पसेको थिएन”, उनले भने” तर यसपाली श्म्भुनाथ नगरपालिका वडा नम्बर १ ले बनाउंँदै गरेको पोखरीको कारणले आज यस्तो समस्याको भोग्नु पर्यो । ”
बुढापाकाको भनाइ सुनाउदै उनले खोला र पोखरी एक अर्काको कट्टर दुश्मन भएको बताए ।
“खोलाको छेउमामा पोखरी छ भने खोलासंग दुश्मनी हुन्छ, खोलाले जति बेला पनि पोखरीलाई ध्वस्त पार्न चाहन्छ”, उनले भने, ” खोलाले जहिले पनि आक्रमण गर्न खोज्छ,पोखरीलाई समाप्त गर्न लागेपछि गाउँमा बाढी पस्छ।”
खोला र पोखरीसंगको दुश्मनीले कहिल्यै नभएको घटना भएकोले बाढीको जोखिम न्यूनीकरणका लागि पोखरी खन्ने कार्य रोक्दै तटबन्ध निर्माणमा लगानी गर्नुपर्ने पीडित महतोको भनाइ थियो ।
बस्ती नै जलमग्न भएपछि खानेपानी तथा बासस्थानको समस्या खेप्नु परेको बाढी पीडितहरुले बताएका छन् । पीडितहरुका लागि खानपिनको व्यवस्था तथा उद्वारको कार्य गाउँपालिकाबाट भइरहेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।